काठमाडौं । भारतको बिहार राज्यको सीतामढी जिल्लामा नेपाली नक्कली नोट छाप्ने अन्तर्राष्ट्रिय गिरोहको कारखाना भारतीय सुरक्षाकर्मीले पत्ता लगाएको छ । कारवाहीमा गिरोहका तीन नेपालीसहित १० जना पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार छापा मार्दा २५ लाख नेपाली नक्कली नोट, एक लाख ४० हजार सक्कली नेपाली नोट, एक हजार ८५० नक्कली भारतीय नोट, प्रिन्टिङ मेसिन र अन्य सामग्री बरामद गरिएको छ।
पूर्वी चम्पारण प्रहरी र स्पेशल टास्क फोर्स (एसटीएफ)को संयुक्त कारबाहीमा गिरोहले खुला नेपाल–भारत सीमा नजिकै नोट छापेर नेपालमा पैठारी गर्ने योजना बनाएको खुलेको छ । प्रारम्भिक अनुसन्धानले उनीहरूले आगामी प्रतिनिधि सभा निर्वाचनमा पैसाको चलखेल गरी राजनीतिक गतिविधि प्रभावित पार्ने उद्देश्य राखेको देखाएको छ ।
सुरक्षाकर्मीहरूले सीमावर्ती क्षेत्रमा कडा निगरानी गर्दै नक्कली नोट तस्करी रोक्न सफल भएका छन्। सर्लाही, महोत्तरी र रौतहटका सीमावर्ती क्षेत्रमा महिला, पुरुष र बालबालिकादेखि विभिन्न समूहले नोट तस्करी गर्ने प्रयास गर्दै आएका थिए। नेपाल–भारत दुवै देशका सुरक्षाकर्मीले सक्रिय अनुगमन गरी गिरोहका अन्य सदस्य र योजनाकारको पहिचान गर्ने काम जारी राखेका छन्।
भारतीय प्रहरीले घटनालाई उच्च प्राथमिकता दिएको छ। गिरोहका पक्राउ परेकाहरूको हिरासतमा विस्तृत सोधपुछ भइरहेको छ। प्रहरीले बरामद सामग्री नष्ट गर्दै नेपाल–भारत दुवै देशमा आर्थिक स्थायित्व र निर्वाचन प्रक्रियामा खतरा आउन नदिन उच्च सतर्कता अपनाएको जनाएको छ ।
नेपालका लागि पनि यो घटना आर्थिक सुरक्षाको दृष्टिले गम्भीर चेतावनी सावित भएको छ। सुरक्षाकर्मीहरूले नोटको अवैध चलखेल रोक्न र राष्ट्रिय सुरक्षासँग जोडिएका सम्भावित चुनौतीलाई नियन्त्रणमा राख्न थप कदम चाल्ने तयारीमा छन्।





























प्रतिक्रिया