भारतको कोइलाखानीमा ज्यान गुमाएकाका परिवारलाई आर्थिक सहयोग

भारतको कोइलाखानीमा ज्यान गुमाएकाका परिवारलाई आर्थिक सहयोग

केन्द्रबिन्दु
0
Shares

खोटाङ। हलेसी तुवाचुङ नगरपालिकाले भारतको मेघालयस्थित कोइलाखानीमा भएको विष्फोटमा ज्यान गुमाएका आफ्ना नागरिकका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ।

रोजगारीका लागि चार महिनाअघि मेघालय पुगेका हलेसी तुवाचुङ–५ दुर्छिमका ५० वर्षीय रत्न राईको माघ २२ गते कोइलाखानीमा काम गर्ने क्रममा विष्फोट हुँदा मृत्यु भएको थियो। नगरपालिकाले मृतकका परिवारलाई रु ५१ हजार सहयोग उपलब्ध गराएको हो। नगरप्रमुख विमला राईका अनुसार उक्त रकम मृतककी श्रीमती मिना राई (तामाङ)लाई घरमै पुगेर प्रदान गरिएको हो।

दुर्छिमस्थित जोरकाफलका राई परिवारमा दुई छोरा र दुई छोरी छन्। ज्यालामजदुरी गरेर परिवार धान्दै आएका रत्नको मृत्यु भएपछि परिवार आर्थिक समस्यामा परेको छ।

उक्त घटनामा खोटाङकै बराहपोखरी गाउँपालिका–१ सालघारीका २७ वर्षीय पूर्णिराम खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र भञ्ज्याङका ३५ वर्षीय नरबहादुर खपाङ्गी मगरको पनि मृत्यु भएको थियो। पूर्णिराम र सुरेन्द्र दाजुभाइ हुन्। नरबहादुरको सिलोङस्थित निलग्रीन अस्पतालमा उपचारका क्रममा माघ २३ गते मृत्यु भएको थियो। उनीहरूको भारतमै अन्त्येष्टि गरिएको छ।

विष्फोटमा गम्भीर घाइते भएका चार नेपालीको सिलोङस्थित निलग्रीन अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेमा बराहपोखरी–१ का ४७ वर्षीय कर्णबहादुर खपाङ्गी मगर, ४० वर्षीय बमबहादुर खपाङ्गी मगर, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ का ४८ वर्षीय दावा शेर्पा र उदयपुरको त्रियुगा नगरपालिका–१४ का ललितबहादुर लुङ्गेली मगर रहेका छन्।

रोजगारीका लागि पुस ३ गते मेघालय पुगेका तीन जनाको एउटै घटनामा मृत्यु भएपछि बराहपोखरी गाउँपालिकाले मृतकका परिवारलाई प्रतिव्यक्ति रु ५० हजार राहत उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले जानकारी दिए।

कोइलाखानीमा भएको विष्फोटपछि मृतकका परिवारलाई राहत तथा घाइतेको उपचारका लागि सहयोग संकलन अभियान पनि सुरु गरिएको छ।

Skip This
Skip This
Logo