छत्तिसेघाटमा मोटरेबल पुल निर्माण

छत्तिसेघाटमा मोटरेबल पुल निर्माण

केन्द्रबिन्दु
42
Shares

पर्वत। पर्वत जिल्लामा वर्षभरि सडक सञ्चालनलाई सहज बनाउन विभिन्न खोलामा मोटरेबल पुल निर्माण भइरहेको छ। पूर्वाधार विकास कार्यालय पर्वतका अनुसार पैंयु गाउँपालिकाको सरौखोला स्थित छत्तिसेघाट, कुश्मा नगरपालिका र फलेवास नगरपालिकाको सिमानामा पर्ने मल्याङ्दीखोला तथा परादी–गिज्यान सडकअन्तर्गत मोदीखोलामा पुल निर्माण कार्य अघि बढाइएको छ।

तीनमध्ये दक्षिण पर्वतको पैंयु गाउँपालिकाअन्तर्गत पर्ने सरौ–बालाकोट सडकखण्डको छत्तिसेघाट मोटरेबल पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ। विसं २०८० कात्तिकदेखि निर्माण सुरु भएको २५ मिटर लामो यो पुल चार करोड ४३ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो। पुल निर्माणको जिम्मा कस्तुरी कन्ट्रक्सनले लिएको थियो।

वर्षायाममा सरौखोलामा आउने बाढीका कारण पैंयु गाउँपालिका र महाशिला गाउँपालिकाका होश्राङदी, भोक्सीङ र बालाकोटका बासिन्दाले वर्षौंदेखि आवतजावतमा समस्या भोग्दै आएका थिए। पुल सञ्चालनमा आएपछि अब वर्षभरि नै सवारी सञ्चालन सम्भव भएको छ। यसअघि वर्षायाममा सडक पूर्ण रूपमा बन्द हुने र स्थानीयले झोलुङ्गे पुल प्रयोग गर्नुपर्ने अवस्था थियो।

पुल निर्माणपछि सरौखोलाको उपल्लो क्षेत्र, बालाकोट र होश्राङदीका बासिन्दालाई गाउँपालिका केन्द्र हुवास हुँदै स्याङजा, पाल्पा र बुटवलसम्म आवतजावत गर्न सहज भएको पैंयु गाउँपालिका–६ का वडाध्यक्ष गङ्गाधर अधिकारीले बताए।

यसैबीच, कुश्मा नगरपालिका–१० पिपलटारी र फलेवास नगरपालिका–३ शंकरपोखरी जोड्ने मल्याङ्दीखोलामा पनि मोटरेबल पुल निर्माण भइरहेको छ। १६ मिटर लामो यो पुल करिब दुई करोड ५० लाख रुपैयाँ लागतमा निर्माण हुँदैछ। पुल निर्माणपछि पिपलटारी, कटुवाचौपारी, शंकरपोखरी, खानीगाउँ, थापाठाना, भँगरा र कार्किनेटा क्षेत्रका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्नेछ।

त्यस्तै, मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकअन्तर्गत पर्ने परादी–मोदी–गिज्यान–ठाना–तिलाहार सडकको मोदीखोलामा पनि मोटरेबल पुल निर्माण सुरु गरिएको छ। कुश्मा नगरपालिका–८ परादी र मोदी गाउँपालिका–६ गाडतारा जोड्ने यो पुल गत आर्थिक वर्षदेखि निर्माण प्रक्रियामा रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ।

पुल निर्माणसँगै पर्वतका दुर्गम क्षेत्रका बासिन्दालाई यातायात, सेवा पहुँच र आर्थिक गतिविधिमा सहजता हुने अपेक्षा गरिएको छ।

Skip This
Skip This
Logo