गलेश्वर। म्याग्दीको बेनी नगरपालिकाभित्र अटोरिक्सा व्यवसाय युवाका लागि आम्दानीको बलियो माध्यम बनेको छ। नगर क्षेत्रभित्र सञ्चालनमा रहेका करिब ३० वटा अटोरिक्साबाट युवा चालकहरूले मासिक ४० हजार रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन्।
पछिल्लो समय बेरोजगार युवाहरू अटोरिक्सा व्यवसायतर्फ आकर्षित भएका छन्। बेनीबजारका व्यवसायी शिव रेग्मीका अनुसार वैदेशिक रोजगारीको विकल्प खोजिरहेका युवाले अटोरिक्सा चलाएर स्थिर आम्दानी गर्न थालेपछि यस क्षेत्रमा आकर्षण बढेको हो।
बेनी नगरपालिका–२ बगरफाँटका सुमन रिजाल अटोरिक्सा चलाएर मासिक ४० देखि ४५ हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। उनका अनुसार दैनिक दुई हजार पाँच सयदेखि तीन हजार रुपैयाँसम्म आम्दानी हुन्छ भने सबै खर्च कटाएर करिब एक हजार पाँच सय रुपैयाँ बचत हुने गरेको छ।
तीन वर्षअघि तीन लाख ८० हजार रुपैयाँमा अटोरिक्सा किनेका बेनी नगरपालिका–२ फापरखेतका कालु सापकोटाले पनि यस व्यवसायबाट घरखर्च धानिरहेका छन्। सुरुमा अटोरिक्सा कम हुँदा दैनिक तीन हजार पाँच सयदेखि पाँच हजार रुपैयाँसम्म आम्दानी हुने गरेको भए पनि हाल संख्या बढेकाले कमाइ केही घटेको उनले बताए। यद्यपि अन्य व्यवसायको तुलनामा अटो व्यवसायबाट राम्रो आम्दानी भइरहेको उनको भनाइ छ।
वैदेशिक रोजगारीबाट फर्किएका वसन्त रेग्मीले पनि अटोरिक्सा चलाएर मासिक ३० हजार रुपैयाँभन्दा बढी बचत गर्दै आएका छन्। घरमै बसेर काम गर्न पाउने र शारीरिक कष्ट कम हुने भएकाले यो व्यवसाय सन्तोषजनक भएको उनले बताए।
बेनी नगरपालिकाले १० वटा वडाभित्र सञ्चालन गर्नेगरी अनुदानमा अटोरिक्सा वितरण गरेपछि यहाँ अटो सञ्चालन सुरु भएको हो। पहाडी भूगोल भए पनि कालोपत्रे सडक भएका क्षेत्रमा अटोरिक्सा सहज रूपमा सञ्चालन भइरहेका छन्। हाल नगरपालिका क्षेत्रभित्र ३० वटा अटोरिक्सा सञ्चालनमा रहेका छन्।































प्रतिक्रिया