काठमाडौं ।
नेपालीहरुको दोस्रो ठूलो चार्ड तिहार घरआँगनमा आइपुगेको छ । चारैतिर फूलैफूलले ढकमक्क भएका छन् । तिहार लागेसँगै बारीमा फुल्ने सयपत्री मखमली, गोदावरी लगायतका फूलहरु फुलेर झपक्कै भएकाले पनि तिहार लागेको आभास हुन्छ ।
फूलैफूलको पर्व तिहार आउन अब केहि दिन मात्रै बाँकी छ । यसपालि मलमासले गर्दा तिहार एक महिनापछि सरेकाले गाउँघरमा दसैं सकिएसँगै बारीको डिलदेखि प्रत्येक घर–घरमा ढकमक्क फूलेको सयपत्री, गोदावरी, झम्के गोदावरी र मखमलीले तिहार नजिकिको संकेत दिन थालिसेको छ ।
तिहारमा घर सिंगार्न, पूजा गर्न, दाजुभाइका लागि दिदीबहिनीले भाइटीका लगाउँदा मखमली, सयपत्री, गोदावरीको माला लगाइदिने गरिन्छ । यसको मालाको लागि फूलको आवश्यकता पर्ने गर्दछ । फूल र फूलको मालासँगै प्रयोगमा आउने भए पनि तिहारमा भने फूलको छुट्टै महत्व रहेको छ । त्यसैले तिहारलाई फूलहरुको चाड पनि भन्ने गरिन्छ ।
यतिबेला मखमली, सयपत्री लगायतका फूल देशैभर ढकमक्क भएर फूलेका छन् । यहि रौनकमा सयपत्री फूलैफूलको मौसमले काठमाडौंको नार्गाजुन नगरपालिकाको इचंगुनारायणमा चारैतिर फूलेका सयपत्री फूलले निकै मानमोहक देखिएको छ । इचंगुनारायणका घर वरिपरिदेखि पाखैभरी सयपत्रीको पहेंला फूलको दृश्य देख्न सकिन्छ । तिहारमा सयपत्री फूलको माग पनि उच्च हुने गर्दछ ।
तिहार सुरु हुन केही दिन बाँकी हुँदा नै यहाँका फूल व्यवसायीहरु सयपत्री फूल टिप्न र बेच्न व्यस्त हुन थालेका छन् । उनीहरुको बारीमा फूलेको सयपत्री फूल टिपेर माला गाँस्ने र बजार पुर्याउने काममा व्यवसायीहरुलाई भ्याइनभ्याई छ ।
जिविकोपार्जनको प्रमुख आधार बनेको सयपत्री फूल खेती यहाँको नगदेबाली हो । अन्य बालीको तुलनामा यहाँका किसानले दोब्बर आम्दानी फूलखेतीबाटै गर्ने गर्दछन् । काठमाडौंको इचंगुनारायण पुष्प व्यवसायको लागि पकेड क्षेत्र नै रहेको छ । तर यस वर्ष कोरोना भाइरस महामारीको कारण खासै रौनक नभएको र मलमासको कारण चाडबाड पछि परेकाले व्यवसायीहरुलाई अघिल्ला वर्षहरुमा जस्तो चटारो भने नभएको फूल किसानहरुले बताएका छन् ।
विशेषगरि तिहारका लागि निकै महत्वपूर्ण मानिने सयपत्री फूलले नेपालीहरुको सांस्कृतिक महत्व समेत बोकेको छ । पहेँलो रंगमा फूल्ने सयपत्री फूल तिहारमा घरको झ्याल ढोकामा माला बनाएर लगाउने तथा भाइटीकाको दिन दाजुभाइलाई पुज्ने र मालाको रुपमा विशेष प्रयोगमा आउँछ । यहाँका किसानले हरेक वर्षको तिहारमा लाखौँ रुपैयाँको सयपत्री फूल बिक्री गर्ने गरेका छन् ।
विगत १५ वर्षदेखि इचंगुनारायणमा पुष्प व्यवसाय गर्दै आएका स्थानीय मानबहादुर घिसिङले विगतका वर्षको जस्तो कोरोना महामारी र मलमासले गर्दा तिहार पछाडी सरेकाले खासै व्यापारमा रौनक नभएको बताए ।
प्रशस्त मात्रामा सयपत्री फूल भए पनि यो वर्ष बजारमा फूलको माग सोचे जस्तो नहुने देख्छन् घिसिङ । बजारमा फूलको मूल्य पनि कम, व्यापार पनि कम भएको छ । विगतका वर्षमा ढ्वाङको ५ सयदेखि हजार रुपैयाँसम्म बिक्री हुने गरेकोमा यो वर्ष २ सयदेखि तीन सयमात्रै पाउने गरेका छन् भने एक मालाको ५० रुपैयाँ मात्रै पाउने गरेको उनको भनाइ छ ।
त्यस्तै, घिसिङले यो वर्ष भारतबाट सयपत्री फूलको आयात नभए नेपाली फूलले बजार पाउने आशामा पनि रहेको बताएका छन् । उनले व्यापारीहरुले पनि नेपाली उत्पादनलाई प्राथमिकता दिएमा मात्रै किसानहरुलाई थोरै भएपनि राहत हुने बताएका छन् ।
त्यस्तै, तिहारमा वार्षिक ६० हजारसम्मको सयपत्री फूल बेच्ने इचंगुनारायणकी स्थानीय सीता भुजेल यो वर्ष १५÷२० हजार रुपैयाँको पनि व्यापार नहुने बताउँछिन् । यो वर्ष कोरोना महामारीको कारणले फूलको खेती पनि कम भएको तथा बजार माग र फूलको मूल्य पनि कम रहेको छ । उनले यही फूलखेतीबाट नै जिविको पार्जन गर्ने गरेको बताइन् ।
तिहारमा देशभरका विभिन्न स्थानबाट ल्याइने फूलको सर्वाधिक व्यापार काठमाडौं उपत्यकामा हुने गर्दछ । काठमाडौंमा फूलको भन्दा पनि मालाको किनबेच बढी हुने गरेको छ । अनुकूल मौसम र तिहार ढिला परेकाले यो वर्ष स्वदेशमै उत्पादित फूलले राम्रै बजार पाउने देखिएको छ ।
यता फ्लोरीकल्चर एशोसिएसन नेपालले यो वर्ष फूलको मूल्य गत वर्षभन्दा ५ प्रतिशत बढेको बताएको छ । तर किसानले भने व्यापारीहरुले मूल्य घटाएको बताएका छन् ।
एशोसिएसनले बजारमा लागू हुने गरी किसानलाई एक मालाको ५० रुपैयाँ र व्यवसायीहरुले उपभोक्तालाई ७० रुपैयाँसम्म मूल्य तोकिएको जनाएको छ । यो तिहारमा सयपत्री फूलको करिब १५ लाख मालाको माग रहने भन्दै व्यवसायीले तयारी गरिसकेको एशोसिएसनले जनाएको छ । तिहारको समयमा मात्र सयपत्री मालाको कारोबार १२ करोड रुपैयाँ बराबरको हुने गरेको छ ।
एशोसिएसनका अनुसार हरेक वर्ष साढे २ अर्बभन्दा बढीको फूलको कारोबार हुने गरेको छ । गत वर्ष नेपालमा नै उत्पादन २२ लाख र भारतबाट ३ लाख सयपत्री फूल आयात भएको थियो भने ९० लाख रुपैयाँको सयपत्री फूल आयात भएको थियो । यो वर्ष बजारको माग अनुसारको फूल उत्पादन नेपालमा नै भएकाले भारतबाट आयात नगर्ने पक्षमा व्यवसायीहरु रहेका छन् ।
उपत्यकामा खपत हुने ८० प्रतिशत फूल सिन्धुपाल्चोक, काभ्रे, धादिङ, नुवाकोट ,मकवानपुर र सिन्धुली लगायत जिल्लाबाट आउने गरेको छ । यतिबेला दैनिक ५ हजार सयपत्री फूल बिक्री हुने गरेको एशोसिएसनले जनाएको छ ।































प्रतिक्रिया