पुलाचौरमा पक्की सडक निर्माण सुरु

पुलाचौरमा पक्की सडक निर्माण सुरु

केन्द्रबिन्दु
3
Shares

म्याग्दी। बेनी नगरपालिका–५ पुलाचौरमा पक्की सडक निर्माण सुरु भएको छ । बेनी नगरपालिका र सङ्घीय सरकारको लागत साझेदारीमा बेनी–पुलाचौर–टोड्के सडक योजना सञ्चालन भएको हो ।

विसं २०६४ मा मार्ग खुलेको पुलाचौरको सडकलाई ढलान र कालोपत्र गरेर पक्की बनाउन थालिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिएका छन् । बेनी नगरपालिकाको ६० प्रतिशत र सङ्घीय सरकारको ४० प्रतिशत लागत साझेदारीमा सडक स्तरोन्नति आयोजना सुरु गरिएको छ । तीन आर्थिक वर्षमा क्रमागत योजनाका रूपमा पुरुण्डीदेखि पुलाचौर हुँदै नयाँगाउँ खण्डको सडक पक्की बनाइने छ ।

मार्ग खुलेको १८ वर्षपछि सडक स्तरोन्नति सुरु भएपछि पुलाचौरवासी उत्साहित भएका छन् । धुलो र हिलोको समस्या हट्ने, यात्राअवधि छोटिने र सहज आवतजावत हुने अपेक्षा गरिएको छ । सामान्य मर्मतसम्भार गरेर यातायात सञ्चालन हुँदै आएको सडकमा यात्रा गर्न कठिन हुँदै आएको थियो ।

चालु आर्थिक वर्षका लागि रु एक करोड ७७ लाख ८८ हजार ४७२ लागत अनुमान गरिएको योजनाको निर्माणका लागि रिभरएज इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालिले गत पुस १२ गते रु एक करोड २२ लाख ५५ हजार २०० मा ठेक्का सम्झौता गरेको छ ।

निर्माण कम्पनीले सडक फराकिलो पार्ने, पर्खाल निर्माण गर्ने र पुलाचौर क्षेत्रबाट ढलान सुरु गरेको छ । यो सडकबाट स्थानीयवासीका साथै रावणपार्क, पछै, ढोलथान, जगन्नाथ र टोड्केलगायत धार्मिक तथा पर्यटकीयस्थल पुग्न सहज हुने अपेक्षा गरिएको छ ।

बेनी–पुलाचौर–टोड्के सडक बेनी नगरपालिकाको चालु आर्थिक वर्षको गौरवको आयोजना हो । आगामी जेठ १५ गतेसम्म ठेक्काको म्याद रहेको योजनाअन्तर्गत ५९७ मिटर ढलान र ३०० मिटर दूरीमा प्रिमिक्स प्रविधिबाट कालोपत्र गरिने छ ।

पाँच सय दुई मिटर दूरीमा नाली र १७४.७४ घनमिटर पलम कङ्क्रिट पर्खाल निर्माण गरिने छ । बेनी नगरपालिका–६, ५ र मङ्गला गाउँपालिका–१ का बस्तीलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने यो सडकको बेनीदेखि अर्थुङ्गे, बाँसबोट, एकपाटे, अवेचौर हुँदै पुरुण्डीसम्म छ किलोमिटर सडक यसअघि नै ढलान र कालोपत्र गरिएको छ ।

Skip This
Skip This
Logo