रौतहट
रौतहटमा मकैको घोगामा दाना नलागेपछि किसान मर्कामा परेका छन् । सयौं बिगाहा जमिनमा मंहगो मुल्यमा खरिद गरेको मकैको बिउ मकै भाँचेर बेच्ने बेला सम्म दाना नलागेपछि किसानहरु मर्कामा परेका हुन् । सरकारले नै सिफारिस गरेको बन्नी जातको हाइब्रिड मकैको बिउमा दाना नलागेपछि किसानहरु चिन्तित बनेका हुन् । धेरै उत्पादन हुने भन्दै किसानले नेपाल सरकारबाट मान्यता प्राप्त बन्नी जातको हाइब्रिड मकै लगाएका थिए । रौतहटको चन्द्रपुर नगरपालिका ३ गैंडाटारका किसानहरु मकै भाँच्ने बेला हुँदा सम्म पनि मकैमा दाना नलागेको भन्दै सरकार प्रति नै रुष्ट भएका छन् । सरकारले उन्नत जात भनेर सिफारिस गरेको मकैमा दाना नै नपरी त्यसै खेर गएपछि उनीहरु सरकारसँग क्षतिपूर्तिको माग गर्न थालेका छन् ।
गैंडाटारका प्रेम बहादुर बस्नेतको ६ कठ्ठा, मान कुमारी फुँयालको १५ , सविना खुलालको ११, रोहिनी घोरासइनीको १५, गोपाल बहादुर फुँयालको २ विगाह गरेर करिव ३०० बिगाहामा किसानहरुले व्यवसायीक रुपले गत कात्तिकमा मकै छरेका थिए । ९० दिनमा पाक्ने मकै भन्दै सो भेगका किसानले रोपेको मकैमा घोगा लागेपनि दाना नलागेपछि उनीहरु चिन्तित बनेका छन् । किलोको ६ सयका दरले बिउ किनेर रोपेका किसानको मिहेनत मात्र नभएर हजारौंको लगानी समेत खेर गएको छ । बन्नी एनएमएच ७१३ जातको भारतको हैदराबादमा उत्पादन भएको बिउ चन्द्रपुरमा रहेको मंगलेश्वर एग्रोभेट, मैनाली एग्रोभेट र राहुल बिज भण्डारबाट किसानले खरिद गरेर रोपेका थिए ।
गतवर्ष सोही क्षेत्रफलमा लगाएको मकैबाट राम्रो आम्दानी भएको भएपनि अहिले भने एउटा पनि दाना नलाग्दा घरको न घाटको भएको रोहिनी प्रसाद घोरासैनीले बताए । बिउ बिक्री गर्ने एग्रोभेटलाई कारबाही हुनु पर्ने उनले बताए ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया