भोजपुर । आफ्नै गाउँमा स्वरोजगार सृजना गर्दै पुख्र्यौली पेसाको संरक्षणमा युवा सक्रिय हुन थालेका छन्। भोजपुर नगरपालिका–५ बोखिमका ज्ञानेन्द्र विश्वकर्मा गाउँमै बसेर खुकुरी बनाउने कालिगड पेसामा जुटेका छन्।
बाबु–बाजेले सिकाएको सीपलाई निरन्तरता दिँदै विश्वकर्माले यो पेसा अँगालेका हुन्। स्नातक तहसम्म अध्ययन गरेका उनले विदेश जाने अवसर भएको भए पनि पुख्र्यौली पेसा संकटमा परेको देखेर यही क्षेत्रमा केही गर्ने अठोट गरेको बताए। “पेसाको संरक्षणसँगै स्वरोजगार बन्ने लक्ष्यले यो पेसामा लागेको हुँ,” उनले भने, “अन्य काम गर्न सक्ने क्षमता भए पनि यही पेसा रोजेको हुँ।”
विश्वकर्माले सिरुपाते, कोथीमोडा, बाँसपाते, बुदुना र तीनपाटा आकारका भोजपुरे खुकुरी निर्माण गर्नुका साथै मागअनुसार तरबार, कट्टी लगायतका सामग्री बनाउँदै आएका छन्। परम्परागत शैलीमा हातैले बनाइने भोजपुरे खुकुरी बजारमा छुट्टै पहिचान बनाइसकेको छ। गुणस्तरीय फलाम प्रयोग गरी मिहिनेतका साथ बनाइएका खुकुरी देशभरिका विभिन्न जिल्लामा पुग्छन् भने केही व्यक्तिगत मागअनुसार विदेशसम्म पनि जाने गरेका छन्।
खुकुरी बनाउने प्रक्रियामा मेहनत र समय लाग्ने भए पनि त्यसमा गर्व अनुभव हुने उनी बताउँछन्। “यो केवल काम होइन, हाम्रो पहिचान हो,” उनले भने, “पेसालाई बचाउँदै आम्दानी गर्ने लक्ष्यका साथ काम गरिरहेको छु।”
उनका अनुसार नयाँ पुस्तामा सीप हस्तान्तरण गर्न सकिए मात्र यो पेसा दिगो रहन्छ। त्यसका लागि तालिम, प्रविधि र बजार व्यवस्थापनमा सहयोग आवश्यक छ। गाउँमै सञ्चालन भइरहेको उद्योगबाट उत्पादन सिधै बाह्य बजारसम्म पुग्ने व्यवस्था भए आम्दानी अझ बढ्ने उनले बताए।
हाल कच्चा पदार्थको अभाव, मूल्य वृद्धि र बजार पहुँचको सीमितताले समस्या सिर्जना गरेको उनी बताउँछन्। कच्चा पदार्थको सहज उपलब्धता, आधुनिक उपकरण, सीप विकास तालिम र बजार व्यवस्थापनमा सहयोग भए कालिगड पेसा अझ व्यवस्थित र आकर्षक बन्ने उनी विश्वास गर्छन्।































प्रतिक्रिया