काठमाडौं । भारतको प्रतिष्ठित इलेक्ट्रिक मोबिलिटी कम्पनी ‘ग्रीभ्स इलेक्ट्रिक मोबिलिटी’ द्वारा उत्पादित एम्पीयर ब्रान्डका इलेक्ट्रिक स्कुटरहरु आधिकारिक रुपमा नेपाली बजारमा भित्रिएका छन्।
नेपालका लागि एसटीसी ग्रुप अन्तर्गतको एसटीसी अटो शोलुसन प्रा. लि. ले यस ब्रान्डलाई आधिकारिक विक्रेताको रुपमा भित्र्याएको हो ।
भारतमा १६५ वर्षको इन्जिनियरिङ विरासत बोकेको ग्रीभ्स कटनको भगिनी संस्था ग्रीभ्स इलेक्ट्रिकले विगत १७ वर्षदेखि विद्युतीय दुई पाङ्ग्रे सवारी उत्पादन गर्दै आएको छ। भारतका शीर्ष ६ इलेक्ट्रिक स्कुटर ब्रान्डभित्र पर्ने एम्पीयरले नेपाली बजारमा आफ्ना दुई चर्चित मोडलहरू नेक्सस र म्याग्नस निओ सार्वजनिक गरेको छ।
ग्रीभ्सका उत्पादन एम्पीयर भारतमा टप ६ ब्रान्डको रुपमा आफ्नो बलियो उपस्थिति जनाइरहेको ब्रान्ड हो ।
एम्पीयरका स्कुटहरुमा लिथियम फेरो फोस्फेट व्याट्री प्रयोग भएका छन् । यी स्कुटहरु अत्यन्तै चिसो (माइनस ४० डिग्री) र अन्यन्तै तातो (६० डिग्री) मा परिक्षण भएका छन् । एम्पीयरमा प्रयोग भएका लिथियम फेरो फोस्फेट ब्याट्रीको लाइफ साइकल २ हजारसम्म रहेका छन् । यी ब्याट्रीमा ७५ हजार किलोमिटर वा ५ वर्षसम्मको वारेन्टी रहने छ । एम्पीयरका स्कुटहरुमा मजबुद च्यासीस, ट्वीन सस्पेन्सन, स्मार्ट टेक्नोलोजीहरु प्रयोग भएका छन् ।
म्याग्नस निओ

म्याग्नस निओमा २.५ किलोवाट क्षमाताको मोटर उपलब्ध छ । यो स्कुटरमा २.३ किलोवाट आवरको लिथियम ब्याट्री प्याक उपलब्ध रहेका छ भने यसलाई एक पटक फुलचार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ । यो स्कुटरमा आरामदायी सिटका साथै १५० किलो लोडिङ क्षमता र १६५ एमएमको ग्राउन्ड क्लियरेन्स छ । यसमा लो, हाई र रिर्भस राइडिङ मोड उपलब्ध छ । यसको मूल्य तीन लाख रुपैयाँ कायम गरिएको कम्पनीले जनाएकाे छ ।
नेक्सस

नेक्ससमा ३.८ किलोवाट क्षमताको मोटर उपलब्ध छ । यसमा ३ किलोवाट आवरको एलएफपी ब्याट्री उपलब्ध छ । यसलाई एक पटक फुलचार्ज गरेर १०७ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ । यो व्याट्री प्याकलाई घरमै ३ घन्टा ३० मिनेटमा चार्ज गर्न सकिन्छ ।
मिड माउन्ट मोटर भएको यो स्कुटरमा रिभर्स सहित पाँच राइड मोड उपलब्ध छन् । यसमा अलोय ह्वील, डिस्क ब्रेक, अल एलइडी लाइट, यूएसबी चार्जर, केनेक्टिभिटी जस्ता फिचर्स पाउन सकिन्छ । यसको मूल्य तीन लाख ३० हजार रुपैयाँ ताेकिएकाे कम्पनीले जनाएकाे छ ।































प्रतिक्रिया