दमौली। तनहुँ जलविद्युत आयोजना अन्तर्गत प्रसारण लाइन निर्माणका लागि नौ हजार १२७ रुखपोल हटाइने भएको छ। आयोजनाको प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवनमा पर्ने ९२.७ हेक्टर वन क्षेत्रको जग्गा भोगाधिकार पाउनुका साथै त्यहाँ रहेका नौ हजार १२७ रुखपोल हटाउन अनुमति प्राप्त भएको हो।
मन्त्रिपरिषद्को निर्णयअनुसार दमौली–भरतपुर २२० केभी प्रसारण लाइनको टावर निर्माण र मार्गाधिकार क्षेत्रभित्र पर्ने चितवन र तनहुँका वन क्षेत्रको जग्गा तथा बोटबिरुवा हटाउन तनहुँ हाइड्रोपावर लिमिटेड र वन तथा भूसंरक्षण विभागबीच हालै सम्झौता भएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए।
सम्झौता कार्यान्वयनका लागि डिभिजन वन कार्यालय चितवनमा पत्राचार भइसकेको छ। निर्णय नहुँदा प्रसारण लाइन निर्माणमा समस्या भइरहेको थियो।
प्याकेज–३ अन्तर्गत निर्माण व्यवसायी केइसी इन्टरनेशनल लिमिटेड (भारत) ले दमौली–भरतपुर २२० केभी, ३३ किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ टावरमध्ये हालसम्म ७८ टावरको जग हाल्ने र ६९ टावर जडान कार्य सम्पन्न गरिसकेको छ। यस प्याकेजको समग्र प्रगति ७५ प्रतिशत पुगेको छ।
तनहुँ जलविद्युत आयोजनाअन्तर्गत तीन वटा प्याकेजमा काम भइरहेको छ। प्याकेज–१ अन्तर्गत बाँधलगायत संरचनाको काम सोङ्दा कालिका जेभीले गरिरहेको छ। यस प्याकेजमा ५४ प्रतिशत प्रगति भएको छ। मुख्य बाँध निर्माणका लागि डाँडा कटान, पहुँच सडक, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध, दुई वटा डाइभर्सन सुरुङलगायत संरचनाको निर्माणकार्य सम्पन्न भएको छ।
मुख्य बाँध निर्माणका लागि सेती नदीलाई विसं २०८० कात्तिक २० गते पथान्तरण गरिएको थियो। विसं २०८१ जेठमा मुख्य बाँधको माथिल्लो र तल्लो तटीय क्षेत्रमा अस्थायी बाँध निर्माणकार्य सम्पन्न भएको जनाइएको छ।
प्याकेज–२ अन्तर्गत विद्युत्गृह तथा सम्बन्धित उपकरणको काम सिनो हाइड्रो कर्पोरेसन (चीन) ले गरिरहेको छ। भूमिगत संरचना निर्माणका लागि खन्ने कार्य सम्पन्न गरी अधिकांश संरचनाको सिभिल निर्माणकार्य सकिएको छ। विद्युत्गृह, केवल सुरुङ, सर्च ट्याङ्क, टेलरेसलगायत संरचनाको मुख्य कङ्क्रिटिङ कार्य सम्पन्न भइसकेको छ। यस प्याकेजको प्रगति ७३ प्रतिशत रहेको छ।
विद्युत्गृहको सिभिल कार्य करिब सम्पन्न भएको छ भने इलेक्ट्रोमेकानिकल कार्य जारी छ। हाल विद्युत्गृहमा छाना लगाउने र पानी फाल्ने लगायतका काम भइरहेका छन्।































प्रतिक्रिया