भोजपुर। केही समयअघिसम्म सामान्य रूपमा कफीका बोट मात्र देखिने भोजपुरमा अहिले यसको व्यावसायिक खेती विस्तार हुँदै गएको छ । बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका किसान व्यावसायिक कफीखेतीतर्फ आकर्षित भएका हुन् । हाल कफीखेती किसानको आयआर्जनको प्रमुख माध्यम बन्दै गएको छ । उत्पादन भएको कफी घरबाटै बिक्री हुन थालेपछि बजार खोज्नुपर्ने झन्झट घटेको छ भने आम्दानीसमेत बढेको छ ।
जिल्लाका हतुवागढी गाउँपालिकाका सिन्द्राङ, होम्ताङ, लुङ्गिन र लुङ्थुङ, रामप्रसादराई गाउँपालिकाका खोक्सिक, आमचोक गाउँपालिका, पौवादुङमा गाउँपालिका तथा षडानन्द नगरपालिकालगायत क्षेत्रका किसानले कफीखेती विस्तार गर्दै आएका छन् । यी क्षेत्रको माटो, हावापानी र भौगोलिक बनावट कफी उत्पादनका लागि उपयुक्त मानिन्छ ।
कफीखेती विस्तारका लागि सङ्घीय सरकारको विशेष अनुदान तथा किसानको लागत साझेदारीमा चालु आर्थिक वर्षमा करिब रु तीन करोड ३० लाख बराबरको कार्यक्रम सञ्चालन भइरहेको सुरेन्द्रकुमार उदासले जानकारी दिए । उनका अनुसार कफीका लागि उपयुक्त क्षेत्रको पहिचान गरी योजनाबद्ध रूपमा खेती विस्तार भइरहेको छ । नगरपालिकाका सबै १४ वटै वडामा कफीखेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा छन् ।
रामप्रसादराई गाउँपालिका–८ खोक्सिकामा किसानले २२ रोपनी क्षेत्रफलमा सामूहिक कफीखेती सुरु गरेका छन् । मकै, आलुजस्ता परम्परागत बालीमा निर्भर किसान अहिले आयमूलक तथा निर्यातमुखी खेतीतर्फ उन्मुख भएका छन् । खोक्सिका कफीखेतीका लागि उपयुक्त भूगोल भएको र अन्य बालीको तुलनामा कफीबाट राम्रो आम्दानी लिन सकिने स्थानीय कृषक मनोज राईले बताए ।
यहाँ उत्पादन भएको कफी धरान, इटहरी, विराटनगर र काठमाडौँ हुँदै विदेशसम्म निर्यात हुने गरेको स्थानीय कफी व्यवसायी बताउँछन् । विशेषगरी अर्गानिक कफीको अन्तरराष्ट्रिय बजारमा राम्रो माग रहेको जनाइएको छ ।
पछिल्लो समय किसान व्यावसायिक खेतीमा जुटेसँगै उत्पादनसमेत वृद्धि भएको कफी बिक्रेता सुनील श्रेष्ठले जानकारी दिए । राम्रोसँग फलेको कफीको एक बोटबाट २५ देखि ३० केजीसम्म उत्पादन लिन सकिने किसानको अनुभव छ । खेती विस्तार बढेसँगै यहाँबाट निर्यात हुने कफीको मात्रा पनि वृद्धि हुँदै गएको उनको भनाइ छ ।
कफीखेती विस्तारसँगै किसानको आम्दानी वृद्धि हुनुका साथै जिल्लाको कृषि अर्थतन्त्रलाई टेवा पुग्ने अपेक्षा गरिएको छ ।





























प्रतिक्रिया