काठमाडौं । पाटन उच्च अदालतले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को हालै सम्पन्न निर्वाचन प्रक्रियाविरुद्ध दायर गरिएको रिट निवेदन बुधबार खारेज गरिदिएको छ । अदालतको यो स्पष्ट फैसलासँगै संस्थाभित्र देखिएको कानुनी अन्योल पूर्ण रूपमा अन्त्य भएको हुनुका साथै अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीको नेतृत्वमा सर्वसम्मत निर्वाचित नयाँ कार्यसमितिलाई औपचारिक शपथ ग्रहण गर्न कुनै बाधा बाँकी रहेन ।
१७ पुसमा सम्पन्न नाडाको साधारणसभाले उप्रेतीको अध्यक्षतामा पूरै कार्यसमिति सर्वसम्मत चयन गरेको थियो । तर असन्तुष्ट पक्षले निर्वाचन प्रक्रिया विधानविपरीत भएको भन्दै सम्पूर्ण निर्वाचन बदरको माग गर्दै रिट दायर गरेको थियो । अदालतमा मुद्दा विचाराधीन रहेकै बेला नाडाले न्यायालयप्रतिको उच्च सम्मान र विधिको शासनप्रतिको अटल प्रतिबद्धता प्रदर्शन गर्दै नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण कार्यक्रम अस्थायी रूपमा स्थगित गरेको थियो ।
अदालतको फैसलापछि नाडाले तत्काल विज्ञप्ति जारी गर्दै उक्त निर्णयको स्वागत गरेको छ । विज्ञप्तिमा “उच्च अदालतबाट रिट निवेदन खारेज भएको निर्णय प्राप्त भएसँगै सम्पूर्ण कानुनी अवरोध समाप्त भएको छ । अब संस्थाको विधान, विधि तथा स्थापित प्रक्रियाअनुसार निकट भविष्यमै नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण कार्यक्रम सम्पन्न गरिनेछ” भनिएको छ ।
नाडाले अदालतको फैसलाले संस्थामा थप स्पष्टता, स्थिरता र एकता कायम गर्ने विश्वास व्यक्त गरेको छ । साथै, पाँच दशकदेखि नेपालको अटोमोबाइल क्षेत्रको छाता संस्थाको रूपमा सक्रिय नाडाले आगामी दिनमा सम्पूर्ण सदस्य, सरोकारवाला निकाय तथा साझेदारहरूसँग सहकार्य गर्दै अटोमोबाइल उद्योगको दिगो विकास, नीतिगत संवाद र उद्योगमैत्री वातावरण निर्माणमा अझ तीव्र गतिमा अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।
अदालतको यो फैसलाले नाडालाई मात्र होइन, समग्र अटोमोबाइल क्षेत्रलाई समेत नयाँ ऊर्जा र विश्वास प्रदान गरेको छ । अब औपचारिक शपथ ग्रहणपछि नयाँ कार्यसमितिले तत्काल काममा जुट्ने स्पष्ट संकेत दिएको छ ।





























प्रतिक्रिया