म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ। ठूलोखोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले भौतिक संरचना निर्माण, उपकरण जडान र प्रसारण लाइन निर्माण पूरा गरी परीक्षण उत्पादन सुरु गरेको छ ।
आयोजना प्रमुख शिवसागर यादवका अनुसार बाँध, विद्युत्गृह, पाइपलाइन र प्रसारण लाइन निर्माणका साथै उपकरण जडान तथा आन्तरिक परीक्षण सम्पन्न भइसकेको छ । नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा परीक्षण उत्पादन भइरहेको छ ।
विसं २०७८ मा निर्माण सुरु गरिएको आयोजना भौगोलिक रूपमा विकट क्षेत्रमा अवस्थित छ। सुगुरथलामा बाँध र डिसेन्डर निर्माण गरिएको छ भने करिब दुई हजार ९०० मिटर मुख्य पाइपलाइन र ३०० मिटर सर्च साफ्ट पाइपलाइन जडान गरिएको छ । फेदी क्षेत्रमा विद्युत्गृह र स्वीचयार्ड निर्माण गरिएको छ।
‘रन अफ द रिभर’ प्रकृतिको यस आयोजनाबाट उत्पादन हुने विद्युत् पाँच किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत बन्दी सबस्टेसन हुँदै दाना–खुर्कोट २२० केभी प्रसारण लाइनबाट केन्द्रीय प्रसारण प्रणालीमा जोडिएको छ ।
करिब तीन अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा सिटिजन्स र माछापुच्छ्रे बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन्। बाँकी लगानीमध्ये १० प्रतिशत प्रवद्र्धकको हुनेछ भने २० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गरिने योजना छ ।
राहुघाट र यसका सहायक नदीहरूमा यसअघि पनि केही जलविद्युत् आयोजना निर्माण भइसकेका छन्। यस क्षेत्रको जलस्रोत उपयोग गर्दै थप आयोजना सञ्चालन तथा निर्माण भइरहेका छन्, जसले म्याग्दीलाई जलविद्युत् उत्पादनको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्दै लगेको छ ।































प्रतिक्रिया