उद्योग वाणिज्य महासंघको निर्वाचन : यस्तो छ किशोर प्रधानको व्यवसायिक यात्रा

उद्योग वाणिज्य महासंघको निर्वाचन : यस्तो छ किशोर प्रधानको व्यवसायिक यात्रा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
किशोर प्रधान यस्तो नाम हो, जो नेपालको व्यवसायिक क्षेत्रले सम्मानका साथ लिन्छ, सम्बोधन गर्छ । नेपाल उद्योग वाणिज्य महासंघको ५० वर्षे लामो इतिहासमा सबैभन्दा बढी योगदान दिने व्यक्ति हुन् प्रधान । प्रधान एक्लैले महासंलाई २८ वर्ष समय खर्चेका छन् । प्रधानको महासंघसँग अहिलेदेखिको साइनो भने होइन । महासंघसंँग उनको साइनो/सम्बन्ध नङ र मासुको जस्तै छ ।

जिल्ला/नगरदेखिका तल्लो तहका व्यवसायी र उद्योगीका समस्या नजिकबाट बुझेका पात्र हुन् प्रधान । उनले यसपाली महासंघको वरिष्ठ उपाध्यक्षमा उमेद्वारी दिएका छन् । २८ वर्ष अघि उद्योग संगठन मोरङको महासचिवहुँदै महासंघसम्म आईपुगेका प्रधानले महासंघको शाख जोगाउने र राजनीति मुक्त बनाउने बाचा गरेका छन् । प्रधान र महासंघ अहिले एक अर्काका परिपुरक जस्तै भएका छन् । राजविराजमा जन्मिएका प्रधान ‘नेपाल जेसिस’ को राष्ट्रिय अध्यक्ष समेत भइसकेका छन् । उनी २०५० सालदेखि निरन्तर रुपमा महासंघमा क्रियाशील रहेका व्यक्तित्व हुन् ।

उनको संघर्षको इतिहास हेर्ने हो भने कुनै फिल्मको कथा भन्दा कम छैन । संघर्षकै क्रममा उनी काठमाडौँ आए । त्यसपछि उनले दुई वर्ष अन्नपूर्ण होटलमा काम पनि गरे । हुने विरुवाको चिल्लो पात भनेझैँ प्रधानले त्यसपछि आफ्नै व्यवसाय सुरु गर्ने जमर्काे गरे । त्यसपछि पहिलो पटक उनले रत्नपार्कमा रेष्टुरेन्ट खोले । तर त्यो रेष्टुरेन्टमा व्यापार राम्रो नभएपछि सो पेशा छोडे । त्यो खबर उनका बुवाले थाहा पाएपछि उनलाई आफ्नै जन्मथलो राजविराज बोलाए र आफैंले काम सिकाए । त्यहाँ प्रधानले आफ्नो बुवाको व्यवसायमा सहयोग गर्नुका साथै विभिन्न सामाजिक क्रियाकलापमा समेत सहभागी भइरहे । उनले आफ्ना बुवाले सम्हालेका ठेक्का पट्टाको व्यवसायलाई १५ वर्षसम्म निरन्तरता दिएका थिएका थिए । प्रधान सन् १९७८ मा राजविराज जेसिसको अध्यक्ष भएका थिए । त्यस्तै २०३६ सालमा नेपाल जेसिसको केन्द्रीय उपाध्यक्ष समेत भएका थिए । पेशासँगै सामाजिक अभियानमा पनि लागेका प्रधान १९८८ मा जेसिसको राष्ट्रिय अध्यक्ष भए ।

प्रधान पाइप उद्योगसँग सम्बन्धीत छन् । लामो समय ठेक्का पट्टामा काम गरेका प्रधान उद्योगीको पहिचान बनाउन सफल भए । उद्योग खोल्दा उनलाई जापानले प्राविधिक सहयोग गरेको छ । त्यससँगै उनले फर्मास्युटिकल्स (औषधि) उद्योग समेत खोल्न भ्याए । त्यसपछि उद्योग व्यवसायका क्षेत्रमा चम्किएका प्रधान अहिले महासंघको नेतृत्व गर्ने जमर्काे गरिरहेका छन् । उनले उदयपुर सिमेन्ट उद्योग खोल्न पनि महत्वपूर्ण भूमिका खेलेका छन् । उनी अहिले महासंघको उपाध्यक्ष हुन् । उनी पूर्वाञ्चल उद्योग वाणिज्य महासंघको सभापति पनि भइसकेका छन् । त्यस्तै, महासंघको तालिम तथा विकास समिति, उद्योग समिति, सदस्यता सुदृढीकरण समिति, स्थानीय विकास समितिको सभापति भईसकेका छन् ।

महासंघलाई मन्दिर बनाउने बाचा
प्रधानले उद्योग वाणिज्य महासंघलाई मन्दिर बनाउने बाचा गरेका छन् । उनले महासंघलाई मन्दिर बनाउन त्यहाँ व्याप्त रहेको राजनीतिकरणलाई जरैदेखि उखेलेर फाल्ने बताएका छन् । उनको समूहबाट वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएट उपाध्यक्षतर्फ सौरभ ज्योतीले उमेदवारी दिएका छन् ।

किशोर प्रधानको प्यानललाई वर्तमान अध्यक्ष भवानी राणा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा तथा पूर्व अध्यक्षहरुले समेत बलियो साथ दिएका छन् । प्रधान लामो समय महासंघमा आवद्ध रहेका छन् । उनलाई बस्तुगत तथा जिल्ला÷नगरका तर्फबाट पनि सहयोग र समर्थन छ भने वर्तमान अध्यक्ष सहित पूर्वअध्यक्षहरुको टिमले पनि प्रधानलाई सहयोग गर्दैछ । वर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा पूर्व अध्यक्षहरुको पूर्ण साथ रहेकाले प्रधान पनि उस्तै बलिया छन् महासंघको निर्वाचनका लागि । सहयोग र समर्थनका आधारमा हेर्ने हो भने प्रधानले वरिष्ठ उपाध्यक्षमा बाजी मार्ने देखिन्छ ।

महासंघमा हुने गरेको चरम राजनीतिकरणको अन्त्य र महासंघको शाख जोगाउन आफूले उमेद्वारी दिएको उपाध्यक्ष प्रधानले बताउँदै आएका छन् । प्रधान लामो समय महासंघसँग आवद्ध भएकाले उनीसँग उद्योग व्यवसाय क्षेत्रको लामो अनुभव छ । अनुभवकै आधारमा उनी महासंघको नेतृत्व गर्न योग्य उमेद्वार हुन् । प्रधानको बस्तुगत तथा जिल्ला÷नगरमा राम्रो पकड पनि छ । प्रधान आर्थिक रुपमा भने ढकाल भन्दा केही कमजोर छन् । त्यसैको फाइदा उठाउँदै आफ्नो मनबोल गिराउने प्रयास कसैले नगरे हुन्छ भनेका छन्, प्रधानले ।

आर्थिक प्रलोभनमा नपर्ने तथा आफूले चुनाव जितेरै छाड्ने उनको अडान छ । यसर्थमा उनलाई महासंघको निर्वाचनका लागि सबल उमेद्वार मानिन्छ । प्रधान महासंघको कामका लागि धेरै समय दिन सक्ने मेहनती र प्रभावशाली व्यक्तित्व हुन् । ५३ वर्षको इतिहासमा उद्योग वाणिज्य महासंघमा जिल्ला नगरबाट कोही पनि अध्यक्ष बन्न सकेको छैन । त्यसका लागि पनि प्रधानले उमेद्वारी दिएका हुन् ।

Logo