फोहोरबाट मोहोर संकलन गर्दै काठमाडौं महानगर

फोहोरबाट मोहोर संकलन गर्दै काठमाडौं महानगर

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनलाई आम्दानीको स्रोत बनाउने अभियान सुरु गरेको छ। महानगरभित्रका विभिन्न क्षेत्रमा वर्गीकरण गरिएका सुक्खा फोहोर बिक्री गरेर वार्षिक करिब ६ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएको छ।

महानगरले सञ्चालनमा ल्याएको ‘मटेरियल रिकभरी फ्यासिलिटी’ प्रणालीमार्फत सहरमा संकलित सुक्खा फोहोर छुट्याएर बिक्री गर्ने व्यवस्था गरिएको हो। हाल क्षेत्र नम्बर ७ बाट मात्रै दैनिक करिब ३.१९ मेट्रिक टन सुक्खा फोहोर ल्यान्डफिल साइटमा पुग्नबाट रोकिने गरेको महानगरले जनाएको छ।

यस क्षेत्रका १० वटा वडाबाट संकलित सुक्खा फोहोर व्यवस्थापनका लागि ग्लोरियस मल्टिपर्पोज एन्ड सप्लाइज कम्पनीसँग सम्झौता गरिएको छ। यस क्षेत्रबाट मात्र महानगरले वार्षिक करिब ७० लाख रुपैयाँ आम्दानी गरिसकेको जानकारी दिइएको छ।

महानगरले फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन ३२ वटा वडालाई ७ क्षेत्रमा विभाजन गरेको छ। प्रत्येक क्षेत्रमा फोहोर स्थानान्तरण केन्द्र स्थापना गरी सुक्खा फोहोर छुट्याएर पुनः प्रयोग वा बिक्री गर्ने योजना अघि बढाइएको छ।

महानगरका कार्यवाहक मेयर सुनिता डंगोलले फोहोरलाई स्रोतमै वर्गीकरण गरेर व्यवस्थापन गर्न सकेमा वातावरण संरक्षणसँगै आर्थिक लाभ पनि लिन सकिने बताइन्। महानगरका अधिकारीहरूका अनुसार फोहोरको पुनः प्रयोग र पुनर्चक्रणमार्फत दीर्घकालीन व्यवस्थापन प्रणाली विकास गर्ने लक्ष्य राखिएको छ।

Skip This
Skip This
Logo