लाङटाङ राष्ट्रिय निकुञ्जमा वन्यजन्तुबाट प्रभावित किसानलाई राहत वितरण

लाङटाङ राष्ट्रिय निकुञ्जमा वन्यजन्तुबाट प्रभावित किसानलाई राहत वितरण

केन्द्रबिन्दु
18
Shares

रसुवा। लाङटाङ राष्ट्रिय निकुञ्जभित्रका वन्यजन्तुबाट किसानले पाएका क्षतिका लागि राहत वितरण गरिएको छ। निकुञ्ज प्रशासनका अनुसार सबैभन्दा बढी क्षति बँदेल (जङ्गली सुँगुर)बाट भएको छ।

चालु आवमा हालसम्म १५७ जना किसान वन्यजन्तुबाट प्रभावित भएका छन्। प्रभावितमध्ये बाँदरबाट ३४, बँदेलबाट १११, चितुवाबाट ११ र भालुबाट १ जना प्रभावित भएको विवरण सार्वजनिक गरिएको छ।

चितुवाको आक्रमणबाट करिब ३ लाख ७० हजार रुपैयाँ बराबरका बाख्रा–भेडा नोक्सान भएको छ। वन्यजन्तुबाट हुने क्षतिसम्बन्धी राहत निर्देशिका, २०८० अनुसार हालसम्म १४ लाख ९९ हजार ४०० रुपैयाँ राहत वितरण गरिएको छ। केही किसानको मागअनुसार बाँकी रकम भुक्तानी गर्न बाँकी रहेको छ।

स्थानीय किसान साधुराम पौडेलका अनुसार रसुवाको उत्तरी क्षेत्रमा भालु र बँदेलको समस्या बढी देखिएको छ भने दक्षिणी क्षेत्रमा बाँदरले बालीमा धेरै क्षति पुर्याउने गरेका छन्।

राहत पाउन किसानले कृषि तथा पशु सेवा कार्यालयको सिफारिस, प्रहरी प्रतिवेदन, स्थलगत मुचुल्का, निकुञ्ज उपभोक्ता समितिको सिफारिस र प्राविधिक निरीक्षण प्रतिवेदन लगायत कागजात पेश गर्नुपर्नेछ। पशुधनमा क्षति भएको अवस्थामा फोटो, मुचुल्का र पोष्टमार्टम प्रतिवेदन आवश्यक छ।

वन्यजन्तुबाट मानिस घाइते भएमा सरकारी अस्पतालको बिलअनुसार उपचार खर्च उपलब्ध गराइने व्यवस्था छ। निकुञ्ज प्रशासनले जङ्गल क्षेत्रमा घाँस काट्न वा आवतजावत गर्दा एक्लै नजान र सम्भव भएसम्म साथी लिएर सावधानीपूर्वक हिँड्न स्थानीयवासीलाई सुझाव दिएको छ।

Logo