नेपालमा जर्मन प्रविधि भित्रर्याउन ‘ज्ञान साझेदारी’ कार्यक्रम सम्पन्न, संयुक्त लगानीमा जोड

नेपालमा जर्मन प्रविधि भित्रर्याउन ‘ज्ञान साझेदारी’ कार्यक्रम सम्पन्न, संयुक्त लगानीमा जोड

केन्द्रबिन्दु
9
Shares

काठमाडौं। नेपालमा स्थानीय तथा वैदेशिक लगानी प्रवद्र्धन गर्ने उद्देश्यका साथ काठमाडौंमा एक विशेष ‘ज्ञान साझेदारी’ (नलेज सेयरिङ) अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल जर्मन उद्योग वाणिज्य संघ (एनजिसिसिआइ) को आयोजनामा भएको उक्त कार्यक्रममा नेपालमा जर्मन प्रविधिको प्रयोग र लगानीका सम्भावनाबारे गहन छलफल भएको छ ।

बिरा फर्निचरमा आयोजित उक्त कार्यक्रममा ‘माइक्रो इन्टरनेसनल नेपाल’ र एनजिसिसिआइको सहकार्यमा आधुनिक प्रविधिहरूको प्रदर्शन गरिएको थियो । हाल नेपालमा विशेषगरी चीनबाट आयात भइरहेका युवा लक्षित प्रविधिहरूलाई जर्मन प्रविधिको सहायताले नेपालमै कसरी उत्पादन गर्न सकिन्छ भन्ने विषयमा कार्यक्रम केन्द्रित थियो ।

जर्मन विजनेस स्कुलबाट आएका ‘फ्युचर बिलियनियर्स’ (भावी उद्यमी) विद्यार्थीहरूलाई नेपालको औद्योगिक वातावरण र यहाँ रहेका अवसरहरूबारे जानकारी गराइएको थियो ।

कार्यक्रम पछि पत्रकारसँग कुरा गर्दै नेपाल जर्मन उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष चन्द्र कुँवरले नेपाली बजारमा जर्मन प्रविधिको ठूलो सम्भावना रहेको बताए ।

उनले भने, ‘हाम्रो मुख्य उद्देश्य भनेकै जर्मन प्रविधिलाई नेपालमा भित्रर्याउनु र यहाँको ’स्कोप’ विदेशी लगानीकर्ताहरूलाई देखाउनु हो। जर्मनीका विद्यार्थी तथा उद्यमीहरूले नेपालमा आएर संयुक्त लगानी (जोइट भेन्चर) मा काम गर्न सक्छन्।’

अध्यक्ष कुँवरले नेपालमा उत्पादन हुने वस्तुहरूमा जर्मन प्रविधि मिसाउन सके त्यसले उत्पादनको गुणस्तर बढ्ने र आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

संघले सदस्यहरूको उत्पादनलाई प्रवद्र्धन गर्न र विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने बताएको छ । कार्यक्रममा सहभागी जर्मन विद्यार्थीहरूले नेपालको बजार र यहाँको उत्पादन क्षमताप्रति चासो देखाएका थिए, जसले भविष्यमा जर्मन लगानी भित्रिने आशा जगाएको छ ।

Logo