काठमाडौं। डिजिटल सेवा बजारमा बहुराष्ट्रिय प्रविधि कम्पनी टिकटकले नेपालमा कारोबार गर्दा भ्याट तिर्न अस्वीकार गरेपछि कर अधिकारीहरू सक्रिय भएका छन्। ठुला करदाता कार्यालयका अनुसार, टिकटकले चालु आर्थिक वर्ष ०८२-८३ मा एक पैसा पनि भ्याट तिरेको छैन, जबकि विगतका दुई आर्थिक वर्ष ०८०-८१ र ०८१-८२ मा कुल एक करोड ३६ लाख रुपैयाँ भ्याट तिरेको थियो।
टिकटकका प्रतिनिधि बिक्की अग्रवालका अनुसार एप डाउनलोड हुने प्लेटफर्म गुगलको प्ले स्टोर र एप्पलको एप स्टोरले भ्याट तिरेको आधारमा उनीहरू छुट्टै भ्याट तिर्नुपर्ने अवस्था छैन। कर कार्यालयले यस दाबीलाई सहज नमान्दै थप कागजात मागेको छ र कानुनी निर्णय प्रक्रियामा छ ।
विशेषज्ञहरूका अनुसार, गैरबासिन्दा बहुराष्ट्रिय कम्पनीहरूले नेपालमा विद्युतीय सेवा कारोबार गर्दा डिएसटी र भ्याट दुवै तिर्नुपर्ने कानुन अवलम्बन आवश्यक छ । हालसम्म २९ करोड १४ लाख भ्याट अन्य २० भन्दा बढी कम्पनीहरूले तिरेका छन्। सबैभन्दा बढी योगदान मेटा प्लेटफम्र्स (फेसबुक) ले १० करोड २० लाख, दोस्रोमा गुगल एसिया प्यासिफिक ६ करोड ७६ लाख, प्रोमेट्रिक जापान ३ करोड ३२ लाख भ्याट तिरेका छन्।
तर, टिकटक, एब्स्को इन्टरनेसनल, गुगल आयरल्यान्ड र फ्ल्यास टपअपबाट भ्याट शून्य संकलन भएको छ । कर अधिकारीहरू भन्छन्, “विद्यमान कानुन र कार्यविधि अनुसार आवश्यक निर्णय लिनेछौँ। विदेशी प्रविधि कम्पनीहरू कानुनी दायरामा आउनुपर्ने अवस्था छ।”
यो घटनाले बहुराष्ट्रिय प्रविधि कम्पनीहरूलाई नेपालमा कर दायित्व निर्वाह गर्न बाध्य पार्ने दबाब बढाएको छ । सरकार र कर कार्यालयको यस कदमलाई व्यवसायीहरूले ऐतिहासिक र कठोर कदमका रूपमा हेरिरहेका जानकारहरु बताउँछन् ।































प्रतिक्रिया