काठमाडौं। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु साझेदारी वन उपभोक्ता समूहले जैविक मल उत्पादन सुरु गरेको छ। कावासोती नगरपालिका–१४ मा रहेको उक्त साझेदारी वनमा वन क्षेत्रमा खेर गइरहेका झाडी, पातपतिङ्गर तथा अन्य जैविक पदार्थ सङ्कलन गरी मल उत्पादन थालिएको हो।
वनमा रहेका झाडी, पातपतिङ्गर तथा अन्य जैविक पदार्थ सङ्कलन गरी त्यसको प्रयोगबाट मल उत्पादन गरिएको समूहका अध्यक्ष भगवान खनालले बताए। उनका अनुसार यस अभियानले वन व्यवस्थापन व्यवस्थित बनाउने र डढेलो नियन्त्रणमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ। विशेषगरी गर्मीयाममा हुने डढेलो न्यूनीकरणमा यस्तो कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको छ।
अध्यक्ष खनालले वनमा खेर गइरहेका झाडीको सदुपयोग हुने, डढेलोको जोखिम घट्ने र कृषिमा रासायनिक मलको प्रयोगलाई प्रतिस्थापन गर्दै उत्पादन वृद्धि गर्न सहयोग पुग्ने उद्देश्यले यो योजना सुरु गरिएको बताए। उनका अनुसार यसले वातावरण संरक्षणसँगै दिगो कृषिमा टेवा पु¥याउनेछ। साथै स्थानीय किसानलाई सस्तो तथा गुणस्तरीय मल उपलब्ध गराउने लक्ष्य पनि राखिएको छ। रासायनिक मलको बढ्दो प्रयोगले माटोको गुणस्तर ह्रास हुँदै गएको अवस्थामा वनले उत्पादन गरेको जैविक मलले दीर्घकालीन रूपमा कृषि उत्पादन वृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
वनबाट सङ्कलन गरिएका झाडीलाई मसिनो गरी काटी त्यसमा गाईभैँसीको गोबर, खरानी, रातो माटोलगायत आवश्यक तत्व मिसाएर प्राविधिकको निगरानीमा मल तयार पारिने गरिएको छ। मध्यविन्दु जैविक मल उत्पादन कार्यक्रमका संयोजक धनेश्वर कुँवरका अनुसार मल उत्पादन प्रक्रिया वैज्ञानिक ढङ्गले अगाडि बढाइएको छ। उनका अनुसार मलको गुणस्तर कायम राख्न नियमित परीक्षण र अनुगमन पनि गरिनेछ।
साझेदारी वनको स्वरोजगार कार्यक्रमअन्तर्गत आवश्यक जनशक्ति वन उपभोक्ताबाटै व्यवस्थापन गरिएको छ। यस कार्यक्रममार्फत झाडी सङ्कलनदेखि मल प्रशोधन र तयारीसम्मका सम्पूर्ण प्रक्रियामा स्थानीय उपभोक्तालाई रोजगारी उपलब्ध गराइएको छ। यसले ग्रामीण क्षेत्रमा आयआर्जनको अवसर बढाउने अपेक्षा गरिएको छ।
हाल पहिलो चरणमा मल उत्पादन प्रक्रिया जारी रहेको छ। करिब एक सय दिनमा मल तयार हुने र त्यसपछि लागत विश्लेषण गरी उचित मूल्य निर्धारण गरेर बिक्रीवितरण गरिने योजना रहेको छ। आगामी दिनमा उत्पादन विस्तार गरी अन्य स्थानमा पनि आपूर्ति गर्ने तयारी गरिएको छ।
यस पहलले वन संरक्षण, वातावरणीय सन्तुलन, रोजगारी सृजना तथा कृषि उत्पादन वृद्धिमा बहुआयामिक लाभ पु¥याउने विश्वास गरिएको छ। सरकारी तह तथा सरोकारवाला निकायले यस्ता कार्यक्रमलाई प्रोत्साहन गरेमा दिगो विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ।































प्रतिक्रिया