बागलुङका १४ स्थानमा बस्ती जोगाउन तटबन्ध निर्माण सुरु

बागलुङका १४ स्थानमा बस्ती जोगाउन तटबन्ध निर्माण सुरु

केन्द्रबिन्दु
18
Shares

ढोरपाटन। बर्खायाममा हुने कटान र बाढीको जोखिम कम गर्न बागलुङका १४ स्थानमा बस्ती संरक्षणका लागि तटबन्ध निर्माण सुरु गरिएको छ।

गण्डकी प्रदेशको बजेटमार्फत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङले विभिन्न स्थानमा नदी नियन्त्रण तथा तटबन्धको काम अघि बढाएको हो। गत वर्ष २५ स्थानमा तटबन्ध गरिएको थियो भने यस वर्ष १४ स्थानमा काम भइरहेको छ।

बागलुङ नगरपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका र बरेङ गाउँपालिकाका विभिन्न खोलानाला आसपासका जोखिमयुक्त बस्ती लक्षित गरी तटबन्ध निर्माण गरिएको हो।

कार्यालयका अनुसार कुल रु १ करोड ३० लाख लागतमा काम भइरहेको छ। बागलुङ–३ सिगाला र वडा नं १२ गङ्गेखाल्टामा समेत तटबन्ध निर्माण गरिनेछ। गलकोट नगरपालिकामा सबैभन्दा धेरै स्थानमा काम भइरहेको छ, जहाँ खहरेखोला, दरमखोला, गौदीखोला, नरेठाँटीखोला र काउछेरिग लगायत क्षेत्रमा तटबन्ध निर्माण हुँदैछ।

त्यस्तै, बडिगाड गाउँपालिका–५ र ६ मा बडिगाड खोला र खहरेखोला, ढोरपाटन–५ मा भुजीखोला तथा बरेङ–२ मा हुग्दिखोलाका दुई स्थानमा तटबन्ध निर्माण गरिनेछ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका सूचना अधिकारी सुवोध नेपालका अनुसार अधिकांश योजनाको सम्झौता भइसकेको छ भने केही योजनाको सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको छ। तटबन्ध निर्माणले बर्खायाममा बस्तीमा हुने क्षति न्यूनीकरण हुने अपेक्षा गरिएको छ।

Skip This
Skip This
Logo