नेपालगन्ज भन्सारले लक्ष्य भेटेन, आठ महिनामा ५२ प्रतिशत मात्र राजस्व संकलन

नेपालगन्ज भन्सारले लक्ष्य भेटेन, आठ महिनामा ५२ प्रतिशत मात्र राजस्व संकलन

केन्द्रबिन्दु
9
Shares

राँझा। नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यको करिब ५२ प्रतिशत मात्र राजस्व संकलन गरेको छ।

चालु आव २०८२/८३ का लागि रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार वार्षिक लक्ष्य तोकिएकोमा फागुन मसान्तसम्म रु १२ अर्ब ७५ करोड ४३ लाख ८० हजार मात्र संकलन भएको छ। यो कुल लक्ष्यको ५१.९७ प्रतिशत हो।

भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार लक्ष्य पूरा गर्न बाँकी चार महिनामा करिब ४८ प्रतिशत राजस्व संकलन गर्नुपर्ने चुनौती छ। हालसम्म कुनै पनि महिनामा मासिक लक्ष्य पूरा हुन सकेको छैन।

साउनदेखि माघसम्मका महिनामा राजस्व संकलन लक्ष्यको ६९ प्रतिशतदेखि ८८ प्रतिशतसम्म सीमित रहेको देखिन्छ। गत आर्थिक वर्ष २०८१/८२ मा ७४.६४ प्रतिशत र अघिल्लो वर्ष २०८०/८१ मा ६३.३५ प्रतिशत राजस्व संकलन भएको थियो।

नेपाल–भारत सीमा जमुनाह नाकामा एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि आयात–निर्यात बढ्ने अपेक्षा गरिए पनि राजस्व संकलन अपेक्षाअनुसार बढ्न नसकेको भन्सार कार्यालयले जनाएको छ।

Logo