एभरेष्ट चिनी उद्योगले लक्ष्य भेटेन, उखु अभावले क्रसिङ घट्यो

एभरेष्ट चिनी उद्योगले लक्ष्य भेटेन, उखु अभावले क्रसिङ घट्यो

केन्द्रबिन्दु
27
Shares

महोत्तरी। गौशाला नगरपालिका–१ रामनगरस्थित एभरेष्ट चिनी उद्योगले चालु आर्थिक वर्षमा उखु अभावका कारण क्रसिङ लक्ष्य पूरा गर्न सकेको छैन।

उद्योगले यस याममा ३१ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखे पनि २८ लाख ५३ हजार १७८ क्विन्टल मात्र क्रसिङ गर्न सफल भएको छ। यो लक्ष्यभन्दा २ लाख ४७ हजार ८२२ क्विन्टल कम हो।

८९ दिन सञ्चालन भएको क्रसिङ गत पुस ७ गते सुरु भई गत बिहीबारसम्म चलेको थियो। उद्योगका अनुसार उखु पर्याप्त नपाउँदा पटक–पटक क्रसिङ रोक्नुपरेको थियो।

पछिल्ला वर्षहरूमा भुक्तानी प्रक्रिया सरल भए पनि उखुखेती उल्लेख्य रूपमा बढ्न सकेको छैन। एक दशकअघि १५ हजार बिघाभन्दा बढी रहेको उखुखेती घटेर केही वर्षअघि ५–६ हजार बिघामा झरेको थियो भने हाल करिब ९ हजार बिघामा खेती भइरहेको छ।

किसानहरूका अनुसार मूल्य निर्धारण र अनुदान सम्बन्धी समस्याले खेती विस्तारमा बाधा पुगेको छ। यस वर्ष सरकारले प्रतिक्विन्टल रु ६२० मूल्य र रु ७० अनुदानसहित कुल रु ६९० तोकेको छ भने किसानहरूले रु ७५० माग गरेका थिए।

उद्योगले उखुको भुक्तानी तौल भएको करिब दुई साताभित्रै गर्ने गरेको जनाएको छ। हालसम्म २६ लाख ३२ हजार क्विन्टल उखुको रु १ अर्ब ६२ करोड भुक्तानी १ हजार १७४ किसानका बैंक खातामा पठाइसकिएको छ।

Skip This
Skip This
Logo