सुनसरीमा चैते धान रोपाइँ सुरु,किसानलाई भ्याइनभ्याइ

सुनसरीमा चैते धान रोपाइँ सुरु,किसानलाई भ्याइनभ्याइ

केन्द्रबिन्दु
12
Shares

धरान । सुनसरीका किसान यतिबेला चैते धान रोप्न व्यस्त छन्। सिँचाइ सुविधा पुगेका र सिमसार क्षेत्रका किसानलाई धान रोपाइँ गर्न भ्याइनभ्याइ छ।

जिल्लामा चैते र बर्खे गरी वर्षमा दुईपटक धान उत्पादन हुने गरेको छ। मकैभन्दा धानबाट राम्रो उत्पादन हुने र दुईपटक धान लगाउँदा आम्दानी बढ्ने भएकाले किसानको आकर्षण बढेको छ।

रामधुनी नगरपालिका–६ का किसान भावना माझीका अनुसार एउटै खेतमा वर्षमा तीनपटकसम्म बाली लगाउन सकिन्छ। समयमै चैते धान रोप्दा उत्पादन राम्रो हुने उनी बताउँछन्। एउटै खेतमा बर्खे धान, चैते धान र फापर वा तोरी लगाउने गरिएको छ।

जिल्लामा हाल चार हजार ६०० हेक्टर क्षेत्रफलमा चैते धान खेती हुँदै आएको छ। गत वर्ष चार हजार छ हेक्टरमा गरिएको खेतीबाट २३ हजार १६० मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीनलाल श्रेष्ठका अनुसार चैते धानमा बर्खे धानको तुलनामा रोग र कीरा कम लाग्ने र उत्पादन राम्रो हुने भएकाले किसानको आकर्षण बढ्दो छ। जिल्लामा चैते–१, चैते–५ र हर्दिनाथ–३ जातको धान बढी रोपिन्छ।

बराहक्षेत्र, रामधुनी, भोक्राहा र इटहरीलगायत क्षेत्रमा चैते धान रोपाइँ बढी हुने गरेको छ। नहर र पैनीबाट सिँचाइ पुगेका तथा तरकारी खेती कम हुने क्षेत्रमा यस्तो खेती बढी हुन्छ।

रामधुनी–७ का किसान डम्बर माझीका अनुसार चैतभित्र रोपाइँ सके राम्रो उत्पादन हुन्छ। चैत २०–२२ भित्र रोपाइँ नसके उत्पादन घट्ने उनले बताए।

Skip This
Skip This
Logo