दमौली। तनहुँमा उत्पादित मह अन्तरराष्ट्रिय बजारमा प्रवेश गरेसँगै किसान उत्साहित भएका छन्। शुक्लागण्डकी नगरपालिका–१ का थप्रेक र दगामका किसानले उत्पादित मह अहिले विश्व बजारमा बिक्री भइरहेको अनुभव गरिरहेका छन्।
सूर्य नेपाल प्रालिको ‘हिमालयन ट्रेजर’ ब्रान्डले यहाँको मह किसानसँग खरिद गरी अन्तरराष्ट्रिय बजारमा बिक्री गर्न थालेको छ। प्रारम्भिक चरणमा दुई हजार १०० किलो मह प्रति किलो रु दुई हजार दरमा खरिद गरिएको छ।
कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रमअनुसार किसानलाई कफीका बिरुवा वितरण गरी बहुआयामिक कृषि प्रणाली प्रवर्द्धन गरिरहेको छ, जसले किसानको आय स्रोत विविधीकरण गर्न सहयोग पुगेको छ।
थप्रेकका किसान सुरज वाग्लेका अनुसार पाँच सयभन्दा बढी किसान मौरीपालनमा सक्रिय छन्। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत सुरु भएको मौरीपालन कार्यक्रमले व्यावसायिक मौरीपालन विस्तार गर्न सहयोग पुर्याएको छ। वाग्लेसँग हाल २५ मौरीघार छन् र घार संख्या दुई सयसम्म पुर्याउने योजना रहेको छ।
महको गुणस्तर सुनिश्चित गर्न सूर्य नेपालले प्रत्येक महिना विभिन्न फूल स्रोतबाट सङ्कलित महको परीक्षण गर्दै आएको छ। कात्तिक महिनामा कटुस वनबाट सङ्कलित मह उच्च गुणस्तरको पाइएको र विदेशी बजारका लागि उपयुक्त ठहरिएको छ।
किसान नन्दुथापा मगरले भने, “विदेशमा महको माग राम्रो छ। बजारीकरणले अन्य किसानलाई पनि आकर्षित गर्नेछ।”रास्वपा उपसभापति एवं तनहुँ क्षेत्र नं १ का सांसद डा. स्वर्णिम वाग्लेले तनहुँमा उत्पादित ‘कटुस’ मह अन्तरराष्ट्रिय बजारमा पुगेको उल्लेख गर्दै, नेपाली उत्पादनलाई उच्च मूल्यमा विश्वस्तरमा पु¥याउन सकिने अवसर भएको बताए।
उनले आधुनिक प्याकेजिङ, गुणस्तरीय परीक्षण र प्रभावकारी बजारीकरणमार्फत ‘हिमालयन ट्रेजर’ ब्रान्डले खेलेको भूमिका प्रशंसा गरे।































प्रतिक्रिया