काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को आसन्न निर्वाचनका क्रममा वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल समूहले वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल समूहलाई समर्थन गर्ने घोषणा गरेको छ ।
सोमबार आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा महासंघको नयाँ विधानअनुसार उपाध्यक्षसहित १७ सदस्यीय टिम सार्वजनिक गरिएको हो । उक्त समूहले वरिष्ठ उपाध्यक्ष पदका लागि हेमराज ढकाल र महिलातर्फ उपाध्यक्षमा कमला श्रेष्ठलाई अघि सारेको छ । विभिन्न क्षेत्रलाई समेटेर निर्माण गरिएको टिममा कृषि, पर्यटन, निर्यात व्यापार, पुँजी बजार, खाद्यान्न, सूचना प्रविधि, घरजग्गा, जलविद्युतलगायतका क्षेत्रका प्रतिनिधिहरू समावेश गरिएको बताइएको छ ।
समूहका उम्मेदवारहरूले निजी क्षेत्रको नीतिगत सुधार, लगानीमैत्री वातावरण, संस्थागत सुशासन, रोजगारी सिर्जना तथा स्वदेशी उद्योगको संरक्षणसँगै विदेशी लगानी आकर्षणलाई प्रमुख एजेन्डा बनाएको बताएका छन् ।
कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रमाथि हुने अनावश्यक हस्तक्षेप अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याउँदै शिक्षण संस्थाजस्तै व्यवसायिक प्रतिष्ठानलाई पनि शान्ति क्षेत्रका रूपमा मान्यता दिनुपर्ने बताए । उनले हालको कार्यकालमा सुरु गरिएका प्रमुख पाँच एजेन्डामध्ये अधिकांश कार्यान्वयन भइसकेको दाबी गर्दै निजी क्षेत्रका मुद्दा सम्बोधनमा प्रगति भएको उल्लेख गरे ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले निजी क्षेत्रका एजेन्डालाई सरकारको प्राथमिकतामा राखेर आर्थिक समृद्धिको दिशामा अघि बढ्ने प्रतिबद्धता जनाए । उनले वर्तमान नेतृत्वको अनुभव र उपलब्धिलाई निरन्तरता दिँदै महासंघलाई एकताबद्ध रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
त्यस्तै कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष राजेन्द्र मल्लले निजी क्षेत्रबीचको एकता र सहकार्य नै मुलुकको आर्थिक विकासको आधार भएको बताए । उनले निर्वाचनलाई प्रतिस्पर्धा मात्र नभई सहकार्यको अवसरका रूपमा लिनुपर्ने धारणा राखे । महासंघको आगामी निर्वाचनमार्फत नयाँ नेतृत्व चयन हुँदैछ, जसका लागि विभिन्न समूहबीच प्रतिस्पर्धा भइरहेको छ ।































प्रतिक्रिया