काठमाडौं । नेपालका लागि जिली होल्डिङ ग्रुप अन्तर्गत रिडारा ब्रान्डको आधिकारिक वितरक सीजी मोटर्सले नेपाली बजारमा नयाँ इलेक्ट्रिक पिकअप ‘रिडारा आरडी सिक्स इकाेन ४x४’ सार्वजनिक गरेको छ। कम्पनीले “पियाेर इलेक्ट्रिक, पियाेर क्यापाबिलिटी” को अवधारणामा आधारित यस मोडेलको सुरुवाती मूल्य ७१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ।
करिब दुई वर्षअघि नाडा अटो शोमार्फत नेपालमा इलेक्ट्रिक पिकअप सेग्मेन्टको सुरुवात गरेको रिडाराले यस नयाँ संस्करणमार्फत अझ उच्च अफ-रोड क्षमता र पावर आउटपुट प्रदान गर्ने लक्ष्य राखेको छ। नेपालको भौगोलिक आवश्यकतालाई मध्यनजर गर्दै सार्वजनिक गरिएको यो पिकअपलाई कम्पनीले हालसम्मकै सबैभन्दा शक्तिशाली र बहुउपयोगी इलेक्ट्रिक पिकअपको रूपमा दाबी गरेको छ।
रिडारा आरडी सिक्स इकाेन ४x४ मा डुअल मोटर अल-ह्विल ड्राइभ प्रणाली जडान गरिएको छ, जसले ४८५ एनएम को अधिकतम टर्क उत्पादन गर्दछ। यसको २२५ एमएम ग्राउन्ड क्लियरेन्सले कठिन र दुर्गम पहाडी सडकहरूमा सहज यात्रा सुनिश्चित गर्छ भने १२३५ केजीको पेलोड क्षमताले यसलाई व्यावसायिक प्रयोजनका लागि समेत उत्कृष्ट बनाएको छ। विभिन्न सडक र मौसमको अवस्था अनुसार चालकले यसमा इको, नर्मल, स्पोर्ट र अफ-रोड (हिउँ, हिलो, बालुवा) जस्ता मल्टिपल ड्राइभ मोडहरू छनोट गर्न सक्नेछन्।
सुरक्षाका लागि यस गाडीमा ५-स्टार ब्याट्री प्रोटेक्सन आर्मर सिस्टम र आईपी६८-रेटेड ब्याट्री प्याक समावेश गरिएको छ, जसले पानी र धुलोबाट सुरक्षा प्रदान गर्दै उच्च स्थायित्व सुनिश्चित गर्दछ। ६ वटा उन्नत ब्याट्री सुरक्षा व्यवस्थापन प्रणालीले चुनौतीपूर्ण भौगोलिक अवस्थामा पनि गाडीलाई भरपर्दो बनाउने कम्पनीले जनाएको छ।
व्यावसायिक र लाइफस्टाइल दुवै प्रयोजनका लागि उपयुक्त मानिएको यो पिकअप अहिले देशभर रहेका सीजी मोटर्सका आधिकारिक शोरुमहरूमा टेस्ट ड्राइभका लागि उपलब्ध भइसकेको छ।





























प्रतिक्रिया