भक्तपुर ।
नेपालीको दोस्रो ठूलो चार्ड तिहार नजिकिएसँगै बजारमा तिहारको लागि आवश्यक सामाग्री उत्पादन र खपत बढ्दै गएको छ । अहिले बजारमा तिहारको लागि आवश्यक पर्ने सामाग्रीहरु भाईमसला, फलफूल, सयपत्री र मखमली फूलको मालासँगै दियो बाल्ने पालाको समेत खपत र माग बढ्दै गएको छ ।
तिहार नजिकिएसँगै बजारमा पालाको माग बढ्दै गएकाले भक्तपुरका कुमाल समुदायका प्रजापतिहरुलाई पाला बनाउने, सुकाउने र पोलेर तयार गरी बजार पठाउने चटारो सुरु भएको छ ।
परम्परागत रुपमा नै कुमाल समुदायका प्रजापतिहरुको तिहारमा बत्ति बाल्नको लागि प्रयोग हुने पाला बनाउनमा नै दिनचर्या बित्ने गरेको छ । तिहारमा पालाको माग उच्च हुने भएपछि यतिखेर उनीहरुले अन्य माटाका भाँडाको साथै पाला बनाउन व्यस्त छन् । तिहारमा लक्ष्मी पूजाका लागि खुत्रुकेको समेत माग उच्च हुने गरेकाले खुत्रुकेका लागि पनि उनीहरु व्यस्त छन् ।
तिहारका लागि आवश्यक पर्ने माटोका सामग्री बनाउन भक्तपुरको बोलाछे, तालाको, पोटीस्क्वायर, च्यामासिंह, जगाती, सूर्यविनायक, कमलविनायक, थिमिको नगदेश, बोडे, चपाचो, पाँचो लगायतका क्षेत्रका प्रजापतिलाई भ्याइ नभ्याइ हुन्छ । तर,यो वर्ष कोरोना महामारीका कारणले विगतका वर्षहरुमा जस्तो रौनक भने नरहेको व्यवसायीहरु बताउँछन् । उनीहरुका अनुसार कोरोना महामारीले गर्दा यो वर्षको तिहारमा विगतका वर्षहरु झैं आवश्यकता पर्ने पाला, खुत्रुके, धुपौरा लगायतका सामानको माग आधा मात्रै आएकाले माटोका सामग्रीको उत्पादन पनि कम भएको भक्तपुरका विकास प्रजापति बताउँछन् । विगतका वर्षहरुमा तिहारको लागि पाला बनाउने काम छ सात महिना अघिबाटै सुरु हुन्थ्यो । तर यो वर्ष पालाको माग ५० प्रतिशतले कम भएकाले पहिलेको वर्षहरुमा झैं चटारो नभएको प्रजापतिको भनाई छ ।































प्रतिक्रिया