तनहुँ। व्यास नगरपालिकाले फोहर बिक्रीबाट आठ महिनामा १७ लाख १३ हजार रुपैयाँ आम्दानी गरेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुनसम्म उक्त आम्दानी भएको हो।
नगरपालिकाले प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तु छुट्याएर गत वर्षदेखि बिक्री गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिएका छन्। उनका अनुसार फोहर सङ्कलन गरी बिक्री गर्न थालेपछि यो नगरपालिकाको आम्दानीको स्रोत बनेको छ।
व्यास नगरपालिकाले दैनिक १५ टन नकुहिने र सात टन कुहिने फोहर सङ्कलन गर्दै आएको छ। कुहिने फोहरलाई व्यास–१० भतेरीस्थित गौ संरक्षण केन्द्रमा व्यवस्थापन गरिएको छ भने नकुहिने फोहरलाई मोहरमा बदल्ने लक्ष्यसहित बिक्री गरिँदै आएको छ। प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तु बिक्रीका लागि बोलपत्र आह्वान गरेर प्रक्रिया अघि बढाइएको हो।
नगरपालिका परिसरमा ‘बेलिङ’ मेसिन जडान गरेर नकुहिने फोहर भण्डारण गर्ने व्यवस्था मिलाइएको छ। कार्यालयका अनुसार एल्युमिनियम प्रतिकिलो ६० रुपैयाँ, फलाम ३५ रुपैयाँ, टिन २५ रुपैयाँ, बोतल २३ रुपैयाँ, कपडा ५ रुपैयाँ ५० पैसा, कपी १६ रुपैयाँ र किताब १४ रुपैयाँ प्रतिकिलोका दरले बिक्री भइरहेको छ।
यसअघि उक्त फोहर व्यास–३ मादी नदी किनारमा व्यवस्थापन गरिँदै आएको थियो। सम्झौता अवधि सकिएपछि हाल अस्थायी रूपमा कार्यालय परिसरबाटै व्यवस्थापन भइरहेको जनाइएको छ।
नकुहिने फोहरको दिगो व्यवस्थापनका लागि जग्गा खरिद प्रक्रिया पनि अगाडि बढाइएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताएका छन्।





























प्रतिक्रिया