खोटाङ। दिक्तेल बजारको भानुचोकमा रहेको राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुनर्निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले दिक्तेल बजारको समग्र सौन्दर्यकरणका लागि रु एक करोड बजेट उपलब्ध गराएपछि ठेक्का प्रक्रियामार्फत सालिक पुनर्निर्माणको काम सम्पन्न गरिएको हो ।
भानुभक्तको सालिकसँगै बजार क्षेत्रका विभिन्न स्थानमा पूर्वाधार विकासका काम गरिएको भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख विनम दाहालले जानकारी दिए । “दिक्तेल बजारको सौन्दर्यकरण कार्यक्रमअन्तर्गत आदिकवि भानुभक्त आचार्यको अर्धकदको प्रतिमा पहिलेकै स्थानमा राखिएको छ । त्यहाँ ठूलो आकारको मूर्ति सरोकारवालाले नै खरिद गरेर राख्ने सहमति भएको छ,” उनले भने, “सालिक पुनर्निर्माण सकिएसँगै वरपरका खाली ठाउँमा टाइल जडान, रङरोगन, प्रकाश व्यवस्थापन, बगैँचा निर्माण, चोकको साङ्केतिक चिह्न राख्ने तथा भानुभक्तका कविताका केही हरफ समावेश गरेर सौन्दर्यकरण गरिएको छ ।”
सालिक पुनर्निर्माणअन्तर्गतकै योजनाबाट जिल्ला प्रहरी कार्यालयको प्रवेशद्वार अगाडिदेखि भानुचोक हुँदै लोकसेवा आयोगको कार्यालय तथा त्यहाँबाट नेपाली कांग्रेसको पार्टी कार्यालयसम्म सडक सुधार तथा निर्माणको काम गरिएको छ । साथै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ भित्रका केही सडक निर्माणका कामसमेत सम्पन्न भएको जनाइएको छ ।
भानुचोकमा सालिक पुनर्निर्माणका लागि कार्यालयले गत कात्तिक २ गते बोलपत्र आह्वान गरेको थियो । लामो समयदेखि जीर्ण तथा अव्यवस्थित अवस्थामा रहेको सालिकलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउने उद्देश्यसहित पुनर्निर्माण प्रक्रिया अघि बढाइएको थियो ।
सौन्दर्यकरणको काम सम्पन्न भएपछि दिक्तेल बजारको संरचनागत व्यवस्थापन तथा ऐतिहासिक, साहित्यिक र पर्यटकीय महत्व थप उजागर भएको छ । पुराना संरचनाका घरहरू रहेको बजारको स्वरूप प्रदेश सरकारको लगानीमा विस्तारै परिवर्तन हुँदै गएको देखिन्छ ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको कामसमेत सम्पन्न भएको छ । विसं २०७६ मा सुरु गरिएको सडक ढलान सात वर्षपछि पूर्णता पुगेको हो । किरात चोकदेखि हाडडाँडासम्मको भित्री सडक ढलान भएपछि हिउँदमा धुलो र बर्खामा हिलोको समस्या अन्त्य भएको छ ।
लामो समयपछि सडक ढलान सम्पन्न भएसँगै दिक्तेल बजारको स्वरूप परिवर्तन भएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनप्रसाद आचार्यले बताए । साँघुरो, हिलाम्मे र धुलाम्मे अवस्थाको सडक संघ र प्रदेश सरकारको बजेटबाट ढलान गरिएको हो ।
शङ्धर साख्वाः चोकदेखि भानुचोकसम्मको सडक ढलान पुस २७ गते सम्पन्न भएसँगै काम पूरा भएको हो । कोशी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार कार्यालयले मूल्य अभिवृद्धि कर तथा पिएससहित रु ९५ लाख ८५ हजार ७८ लागतमा निर्माण सम्पन्न गरेको जनाएको छ ।





























प्रतिक्रिया