काँक्रेविहार। सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२ मा फोहर प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकार र भेरीगङ्गा नगरपालिकाको संयुक्त लगानीमा निर्माण भइरहेको केन्द्रको अधिकांश काम सम्पन्न भइसकेको छ ।
नगरप्रमुख यज्ञप्रसाद ढकालका अनुसार भेरीगङ्गा, लेकबेँसी र गुर्भाकोट नगरपालिकाको फोहर एकै ठाउँमा प्रशोधन गर्ने लक्ष्यसहित केन्द्र निर्माण गरिएको हो । हालसम्म लेकबेँसी नगरपालिकासँग मात्र सम्झौता भएको छ ।
भौतिक संरचना निर्माण सकिएको भए पनि पानी, बत्ती र पर्खाललगायत केही काम बाँकी रहेको जनाइएको छ । फोहर वर्गीकरण र प्रशोधनका लागि आवश्यक उपकरण खरिद गर्न बजेट अभाव देखिएको छ ।
केन्द्र भेरीगङ्गा–१२ स्थित रामजानकी सामुदायिक वनको २० रोपनी क्षेत्रफलमा निर्माण गरिएको हो । २०७९ चैतमा विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण सुरु गरिएको थियो ।
केन्द्र सञ्चालनमा आएपछि फोहरको वर्गीकरण र प्रशोधन गरी ग्यास र मल उत्पादन गर्ने लक्ष्य राखिएको छ । यसबाट नगरपालिकाको आन्तरिक आम्दानी बढ्ने अपेक्षा गरिएको छ ।
प्रशोधन केन्द्रसम्म पुग्ने सडक, पानीलगायत आधारभूत पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ । केन्द्र निर्माणका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० मा रु ५० लाख र चालु वर्षमा थप रु ५० लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाले पनि करिब रु ४९ लाख ५० हजार लगानी गरेको छ ।
सडक र अन्य पूर्वाधार निर्माणका लागि सौरव निर्माण सेवासँग करिब रु ९९ लाख ९८ हजारमा सम्झौता गरिएको छ । असार १५ भित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।





























प्रतिक्रिया