प्युठान । ऐरावती गाउँपालिका–१ छेडाघाटमा गएराति भएको भीषण आगलागीमा २२ घरगोठ जलेर नष्ट भएका छन् भने १२० भन्दा बढी चौपाया मरेका छन् ।
वडाध्यक्ष अमर रेश्मी मगरका अनुसार आगलागीबाट स्थानीय ओमबहादुर रेश्मी मगर, मीनबहादुर रेश्मी मगर, गुमा रजाली, बलबहादुर रजाली, झबिन्द्र रजाली, धनबहादुर राना र डिला रजालीलगायतका घरगोठ पूर्ण रूपमा क्षति भएका हुन् ।
आगलागीमा मानवीय क्षति नभए पनि घरमा राखिएको अन्नपात जलेर नष्ट भएको छ । १०८ वटा बाख्रा, ७ वटा गोरु र एउटा बङ्गुर गरी १२० भन्दा बढी चौपाया मरेको जनाइएको छ ।
आगलागी नियन्त्रणमा लिने क्रममा एक जना सामान्य घाइते भएका छन् । राति साढे ११ बजेतिर खाली गोठबाट सुरु भएको आगो छिट्टै फैलिँदा बस्ती नै प्रभावित भएको हो ।
स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । क्षतिको विस्तृत विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।





























प्रतिक्रिया