पर्वत। पर्वतमा यस वर्षदेखि गहुँबालीको प्रजनन बिउका लागि गहुँ खेती विस्तार गरिएको छ।
फलेवास नगरपालिका–६ देविस्थान चौबीसकुरियामा प्रजनन गहुँको मूल बिउ खेती गरी अनुसन्धान सुरु गरिएको हो। बिउ उत्पादनका लागि करिब पाँच हेक्टर क्षेत्रफलमा गहुँ बाली लगाइएको कृषि विकास कार्यालय पर्वतले जनाएको छ।
राष्ट्रिय गहुँ अनुसन्धान परिषद् र कृषि विकास कार्यालयको सहयोगमा स्थानीय जातसँगै थप आठ प्रजातिका गहुँमा अनुसन्धान गरिएको छ। ‘आत्मनिर्भरताका लागि बिउ उत्पादन’ कार्यक्रमअन्तर्गत बिउ उत्पादन भइरहेको कार्यालयले जनाएको छ। सो कार्यालयका सूचना अधिकृत सोविता सुवेदीका अनुसार गौतम, भेरीगङ्गा, हिमगङ्गा, जिंकलगायतका जातमा अनुसन्धान भइरहेको छ।
स्थानीय शक्ति कृषि तथा पशुपक्षी फार्ममार्फत २० जना किसानले एकै क्षेत्रमा प्रजनन गहुँको बिउ खेती गरिरहेका छन्। अन्य प्रजातिभन्दा यी जातका गहुँको बिउ राम्रो उत्पादन भएको जनाइएको छ।
अन्य खेतीभन्दा सजिलो र सिँचाइको पहुँच पुगेकाले यस क्षेत्रका किसान हिउँदेबालीअन्तर्गत गहुँ खेतीमा लागेका छन्। गत वर्ष पनि पहाडी क्षेत्रका लागि उपयुक्त जात पहिचान गर्न राष्ट्रिय गहुँबाली अनुसन्धान परिषद् भैरहवाले विभिन्न आठ जातमा गरेको अनुसन्धान सफल भएको थियो। यस वर्ष पनि हावापानी अनुकूल भएकाले प्रजनन बिउ खेती गरिएको कृषि प्राविधिक तथा कृषक आनन्द पौडेलले बताएका छन् ।
कृषि प्राविधिक खेतमै पुगेर गहुँको अनुसन्धान गर्दा किसानलाई आगामी दिनमा गहुँ खेती गर्न सहज हुने उनले बताए। कुन भूगोलमा कुन खेती गर्दा उत्पादन र आम्दानी गर्न सकिन्छ भन्ने चेतना बढेको उनको भनाइ छ।
वर्षेनी तापक्रम वृद्धि, जलवायु परिवर्तन, हिउँदे वर्षा नहुनु र सिँचाइ अभावजस्ता कारणले किसानको गहुँ खेतीतर्फ आकर्षण घट्दै गइरहेका बेला निश्चित प्रजाति पहिचान गरेर सिफारिस गरिएपछि आकर्षण बढ्ने अपेक्षा गरिएको छ। गत वर्ष गहुँका विभिन्न आठ प्रजनन बिउमा गरिएको अनुसन्धानमध्ये हालसम्म चार जात सिफारिसका लागि छनोट गरिएको छ।
अनुसन्धानपछि एनएल ११७९, एनएल १४८८, एनएल १४८६ र एनएल १४५० नामका गहुँका जात खेतीका लागि सिफारिस गर्ने तयारी गरिएको छ। यी प्रजाति समुद्री सतहदेखि ८०० मिटर उचाइसम्म राम्रो उत्पादन हुने जनाइएको छ।
उत्पादनमा उर्वर फलेवास क्षेत्रमा धान,मकै जोन जस्तै गहुँबालीको जोन बनाउने तयारीमा नगरपालिका अग्रसर भएको फलेवास नगरपालिकाका उपप्रमुख शोभाकुमारी क्षेत्रीको भनाई छ । फलेवासका खानिगाउँ, मुडिकुवा देविस्थान, कुर्घा , पाङराङ, लिमिठाना गहुँवालीका लागि उपयुक्त मानिन्छ ।





























प्रतिक्रिया