महासंघको वस्तुगत सदस्यमा राजकुमार कार्कीको पुनः उम्मेदवारी

महासंघको वस्तुगत सदस्यमा राजकुमार कार्कीको पुनः उम्मेदवारी

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी ६०औं वार्षिक साधारण सभा तथा निर्वाचनमा व्यवसायी राजकुमार कार्कीले वस्तुगत तर्फबाट कार्यकारिणी समिति सदस्य पदमा पुनः उम्मेदवारी दिएका छन्।

नेपाल कुचो संघका अध्यक्ष तथा नेपाल अलैंची व्यवसायी महासंघका पूर्वअध्यक्ष कार्कीले वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ पक्षधर मानिने शिवप्रसाद घिमिरेको प्यानलबाट उम्मेदवारी घोषणा गरेका हुन्।

हाल महासंघको कृषि उद्यम केन्द्रमा सहसभापतिका रूपमा कार्यरत कार्की कृषि र निर्यातजन्य उद्योगका क्षेत्रमा गहिरो दख्खल राख्ने व्यवसायी हुन्। ‘लो प्रोफाइल’मा रहेर ठोस काम गर्न रुचाउने कार्कीले वस्तुगत क्षेत्रको सशक्तीकरणले मात्रै व्यवसायीको वृहत्तर हित हुने र अर्थतन्त्रका वर्तमान समस्या सम्बोधन गर्न महासंघले प्रभावकारी पैरवी गर्न सक्ने विश्वास व्यक्त गरेका छन्।

पहिलो कार्यकालको अनुभवसहित पुनः चुनावी मैदानमा उत्रिएका कार्कीले कृषिजन्य उत्पादनलाई उद्योगसँग जोड्ने स्पष्ट नीति निर्माणका लागि सरकारसँग विशेष पहल गर्ने मुख्य एजेन्डा अघि सारेका छन्।

व्यावसायिक रूपमा उनी राजु एन्ड नवीन स्टोर्स, कार्की ब्रुम सप्लायर्स, गृहलक्ष्मी ट्रेडर्स, आरआर ट्रेडर्स, गजुरमुखी झाडु कुचो उद्योग तथा एनके लक्ष्मी काठमाडौं लगायतका फर्महरू मार्फत सक्रिय छन्।

Logo