काठमाडौँ । ‘जलस्रोतको व्यवस्थित उपयोग, समृद्ध देश निर्माणमा सहयोग’ भन्ने नाराका साथ आज सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस मनाइँदैछ। सरकारी तथ्याङ्कअनुसार नेपालमा करिब २५ लाख हेक्टर सिँचाइयोग्य जमिनमध्ये हाल करिब १५.८ लाख हेक्टरमा मात्रै सिँचाइ सुविधा पुगेको छ। अझै करिब १० लाख हेक्टर जमिन सिँचाइ सेवाबाट वञ्चित रहेको देखिएको छ।
नेपालमा सिँचाइको औपचारिक सुरुआत २००९ सालमा नहर विभाग स्थापना भएपछि भएको हो। त्यसपछि विभिन्न संरचनागत परिवर्तन हुँदै हाल जलस्रोत तथा सिँचाइ विभाग सञ्चालनमा छ। देशकै पहिलो आधुनिक सिँचाइ प्रणाली ‘चन्द्र नहर’ १९७९ सालमा निर्माण सुरु भई १९८५ सालमा सम्पन्न भएको थियो। सप्तरी क्षेत्रमा रहेको यस नहरबाट हजारौँ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ।
विभागका अनुसार हालसम्म सतह, भूमिगत, जलासय र लिफ्ट सिँचाइ प्रणालीमार्फत सिँचाइ विस्तार भइरहेको छ। कृषि क्षेत्रमा करिब ६२ प्रतिशत जनसंख्या निर्भर रहेकाले सिँचाइलाई अर्थतन्त्रको आधार मानिएको छ। राष्ट्रिय गौरवका आयोजनामध्ये सिक्टा, बबई र रानी जमरा कुलरिया सिँचाइ आयोजनामा उल्लेखनीय प्रगति भएको जनाइएको छ। यस्तै भेरी–बबई र सुनकोशी-मरिन डाइभर्सन जस्ता आयोजनाले पनि गति लिने अपेक्षा गरिएको छ।
तराई-मधेसमा भूमिगत जल सिँचाइ कार्यक्रममार्फत करिब ३ लाख हेक्टरभन्दा बढी क्षेत्रमा सिँचाइ विस्तार गर्ने काम भइरहेको छ। विभागले नदी नियन्त्रण, तटबन्ध निर्माण, जग्गा उकास तथा जलस्रोत संरक्षणका काम पनि अघि बढाइरहेको जनाएको छ।
सरकारले सिँचाइ विस्तारलाई कृषि उत्पादन वृद्धि, खाद्य सुरक्षा र आर्थिक समृद्धिसँग जोड्दै यस क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ।































प्रतिक्रिया