काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आगामी ६०औं वार्षिक साधारण सभा तथा निर्वाचनमा वस्तुगत तर्फबाट कार्यकारिणी समिति सदस्य पदमा कृष्णभक्त श्रेष्ठले उम्मेदवारी दिएका छन् । उनी नरेशलाल श्रेष्ठ नेतृत्व प्यानलबाट चुनावी मैदानमा उत्रिएका हुन् ।
चन्द्रागिरी नगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल कोल्ड स्टोरेज संघका अध्यक्षका रूपमा परिचित श्रेष्ठ ग्यास, खाद्य भण्डारण तथा कोल्ड स्टोरेज क्षेत्रका अनुभवी व्यवसायी हुन् । उनी दशकौँको व्यावहारिक अनुभवलाई राष्ट्रिय नीतिगत सुधारमा रूपान्तरण गर्ने दृढ प्रतिबद्धतासहित महासंघको नेतृत्वमा प्रवेश गर्न लागेका छन् ।
काभ्रे जिल्लाको बनेपा–४ नाला पुर्ख्याैली थलो भएका श्रेष्ठले व्यवसायिक क्षेत्रमा छोटो समयमै उल्लेखनीय पहिचान बनाएका छन् । उनी चोभार कोल्ड स्टोर कम्पनी प्रा.लि.का निर्देशक पनि हुन् । यस कम्पनीमार्फत ३५ करोड रुपैयाँ लगानीमा २५०० मेट्रिक टन क्षमताको अत्याधुनिक कोल्ड स्टोर सञ्चालनमा ल्याएका छन् । स्थानीय कृषकलाई प्रत्यक्ष सेवा पुर्याउने उद्देश्यले टौदह, खहरे क्षेत्रमा स्थापित यो परियोजना कृषि उत्पादनको सुरक्षित भण्डारण, बजारीकरण र स्वदेशी उत्पादनलाई टेवा दिने महत्वपूर्ण पूर्वाधार बनेको छ ।
यसबाहेक धनेश्वर खाद्य उद्योग प्रा.लि., नेपाल स्टोन एन्ड मार्बल उद्योग प्रा.लि. लगायतका कम्पनीमा संलग्न रहेर उनी ग्यास, खाद्य भण्डारण र निर्माण सामग्री क्षेत्रमा सक्रिय छन् ।
नेपाल कोल्ड स्टोरेज संघको २९औँ साधारणसभा तथा १०औँ अधिवेशनबाट सर्वसहमत अध्यक्ष निर्वाचित श्रेष्ठले कोल्ड स्टोरेज उद्योगलाई व्यावसायिक उचाइ दिने, पूर्वाधार विकास गर्ने र किसान–व्यवसायीबीचको समन्वय मजबुत बनाउने अभियान सञ्चालन गर्दै आएका छन् । चन्द्रागिरी नगर उद्योग वाणिज्य संघको अध्यक्षका रूपमा पनि उनी स्थानीय स्तरमा उद्यमशीलता प्रवद्र्धन, पूर्वाधार सुधार र निजी क्षेत्रको हित संरक्षणमा सक्रिय छन् ।
एफएनसीसीआई बागमती प्रदेशको कार्यकारिणी सदस्यका रूपमा काम गरिसकेका उनी हालै बागमती प्रदेशको एसोसिएट उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका थिए । व्यवसाय मात्र होइन, सामाजिक योगदानमा पनि श्रेष्ठको भूमिका उल्लेखनीय छ । भूकम्प, कोभिड–१९ महामारी, बाढी तथा नाकाबन्दी जस्ता संकटका बेला उनी निजी क्षेत्रबाट अग्रसर भएर राहत, सहयोग र पुनर्स्थापनामा सक्रिय रहँदै आएका छन् । संकटका समयमा व्यावहारिक समाधान दिने उनको शैलीले व्यवसायी वर्गमा विश्वास जगाएको छ ।
‘व्यावहारिक व्यवसायिक अनुभवलाई राष्ट्रिय नीतिगत दृष्टिकोणमा रूपान्तरण गर्ने’ भन्ने स्पष्ट भिजन बोकेका श्रेष्ठले एफएनसीसीआईमा वस्तुगत क्षेत्रको सशक्तीकरण, सप्लाई चेन मजबुतिकरण, कोल्ड स्टोरेज पूर्वाधार विस्तार, डिजिटल व्यापार प्रवद्र्धन र कृषि–व्यापार नीति सरलीकरणलाई मुख्य एजेन्डा बनाएका छन् । वर्तमान आर्थिक चुनौतीहरू (पूर्वाधार अभाव, नीतिगत जटिलता र बजार पहुँचको कमी) लाई चिर्न निजी क्षेत्रको प्रत्यक्ष अनुभवलाई नीतिमा बदल्ने उनको दृष्टिकोण छ । उनी वस्तुगत संघहरूको हित संरक्षण गर्दै निर्यात वृद्धि, ग्रामीण उद्यमशीलता र आर्थिक समृद्धिका लागि युवा तथा अनुभवी पुस्ताको सन्तुलित प्रतिनिधित्वको पक्षधर छन् ।
बौद्धिक बहसमा सहज प्रवेश गर्ने र व्यवसायीका व्यावहारिक समस्यालाई प्राथमिकता दिने उनको नेतृत्वले वस्तुगत क्षेत्रमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ । नरेशलाल श्रेष्ठको प्यानलमा रहेर उनी वस्तुगत क्षेत्रको भविष्य निर्धारण गर्ने दौडमा छन् । श्रेष्ठको उम्मेदवारीले एफएनसीसीआईलाई थप व्यावहारिक, समावेशी, पूर्वाधारमुखी र परिणाममुखी बनाउने विश्वास छ ।































प्रतिक्रिया