काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा वस्तुगत संघतर्फबाट बसन्त चन्द्र मरहट्टाले कार्यकारिणी सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपालको कृषि, विशेष गरी बीउ बिजन व्यवसायलाई व्यावसायिक र प्राविधिक रूपमा मजबुत बनाउन निरन्तर क्रियाशील मरहट्टाले उपाध्यक्षका उम्मेदवार शिवप्रसाद घिमिरेको प्यानलबाट आफ्नो उम्मेदवारी दिएका हुन्।
कृषि, पर्यटन र स्वास्थ्य क्षेत्रमा २३ वर्ष लामो व्यावसायिक अनुभव सँगालेका मरहट्टा हाल राष्ट्रिय बीउ बिजन समिति (नेपाल सरकार) का सदस्य तथा नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत परिषद्का सह–सभापति हुन्। उनी नेपाल बीउ व्यवसायी संघका निवर्तमान अध्यक्ष समेत हुन्।
संघको नेतृत्वमा रहँदा उनले दुई कार्यकाल महासचिव र एक कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हाल्दै बीउ बिजन व्यवसायीहरूको हकहित संरक्षण र गुणस्तरीय बीउ वितरण प्रणालीलाई व्यवस्थित बनाउन महत्त्वपूर्ण योगदान पुर्याएका छन्।
मरहट्टा व्यावसायिक रूपमा ‘गोर्खा समूह’ अन्तर्गतका विभिन्न कम्पनीहरूमा आबद्ध छन्। उनी गोर्खा सिड एण्ड एग्रो ट्रेडर्स प्रा.लि., गोर्खा एग्रो इन्टरप्राइजेज एण्ड गार्डेन टुल्स प्रा.लि., गोर्खा एग्रो केमिकल्स कम्पनी प्रा.लि. र गोर्खा सिड कम्पनी प्रा.लि.का सञ्चालक हुन्। यी कम्पनीहरूमार्फत उनले कृषि उपकरण, उन्नत बीउ, मल र कृषि रसायनको उत्पादन तथा वितरणमा सक्रिय भूमिका खेल्दै आएका छन्।
नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने अभियानमा सक्रिय मरहट्टाले नीति निर्माण तहमा समेत प्रभावकारी भूमिका निर्वाह गर्दै आएका छन्। निर्वाचनको सन्दर्भमा उनले बीउ बिजन क्षेत्रको व्यावसायिक हित, किसानलाई गुणस्तरीय बीउको सहज उपलब्धता र महासंघको संगठनात्मक क्षमता अभिवृद्धिमा आफ्नो ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उद्यमी र सरकारबीच समन्वयकारी भूमिका निर्वाह गर्दै कृषि उद्यमलाई प्राथमिकतामा राख्नु उनको मुख्य एजेन्डा रहेको छ ।





























प्रतिक्रिया