काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनको सरगर्मी बढ्दै जाँदा स्वास्थ्य क्षेत्रका सफल उद्यमी रामशरण भण्डारी (आर.एस.)ले एसोसिएट सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनी एसोसिएटतर्फका उपाध्यक्षका उम्मेदवार प्रबलजंग पाण्डेको समूहबाट चुनावी मैदानमा उत्रिएका हुन्।
स्वास्थ्य सेवा क्षेत्रमा लामो समयदेखि सक्रिय भण्डारी काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पताल र भक्तपुरको गठ्ठाघरमा रहेको ह्याम्स नागरिक कम्युनिटी टिचिङ हस्पिटलका अध्यक्षका रूपमा चिनिन्छन्। उनले यी दुवै अस्पताललाई गुणस्तरीय स्वास्थ्य सेवाको नमुनाका रूपमा स्थापित गरेका छन्। यस्तै, उनी स्वास्थ्य उपकरण तथा सामग्रीको प्रमुख आपूर्तिकर्ता संस्था भण्डारी सर्जिकल हाउसका प्रबन्ध निर्देशक समेत हुन्।
वि.सं. २०५८ देखि सुरु भएको यो व्यवसायले सामान्य उपकरणदेखि सीटी स्क्यानजस्ता अत्याधुनिक प्रविधिको आयात र वितरणमा सक्रिय भूमिका खेल्दै आएको छ।
स्वास्थ्य र मानवीय सेवामा पुर्याएको योगदानको कदर गर्दै भण्डारीलाई युरोपियन इन्टरनेशनल युनिभर्सिटी (पेरिस)बाट ‘ग्लोबल लिडरसिप एन्ड म्यानेजमेन्ट’ मा प्रोफेसनल डक्टरल उपाधि प्रदान गरिएको छ । यसका साथै, उनलाई केमिकल एन्ड सर्जिकल सप्लायर्स एसोसिएसन अफ नेपाल (केमसान) ले पनि सफल युवा व्यवसायीका रूपमा सम्मानित गरेको थियो।
हाल प्रबलजंग पाण्डेको प्यानलमा रहेर चुनावी अभियानमा जुटेका भण्डारीले स्वास्थ्य क्षेत्रको व्यवसायलाई व्यावसायिक र पारदर्शी बनाउने एजेन्डा अघि सारेका छन्।































प्रतिक्रिया