काठमाडौं । विद्युतीय चुरोट (भेप) को आवरणमा सुन तस्करी गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महरासहित २९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले बिहीबार दायर गरेको मुद्दामा ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ १९ पैसाको बिगो दाबी गरिएको छ । आरोपितमध्ये चार विदेशी नागरिक, एक कम्पनी र बाँकी नेपाली व्यक्ति रहेका छन् ।
अख्तियारका अनुसार पुस २०७९ मा फ्लाई दुबईको उडानमार्फत नेपाल भित्र्याइएको ७३० थान इलेक्ट्रिक चुरोट (भेप) भित्र लुकाएर सुन तस्करी गरिएको थियो । सो सुन बिक्री गरी संगठित रूपमा आपराधिक लाभ लिइएको दाबी गरिएको छ ।
मुद्दामा महराका छोरा राहुल महरासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन उच्च अधिकारीहरूलाई पनि प्रतिवादी बनाइएको छ । मुख्य र सह–मतियार गरी दुई समूहमा विभाजन गरेर अभियोगपत्र दायर गरिएको आयोगले जनाएको छ ।
यसै प्रकरणमा महरा यसअघि पनि पटक–पटक पक्राउ परेका थिए । पछिल्लो पटक उनी २० लाख धरौटी बुझाएर रिहा भएका थिए । यसअघि चैत २०८० र असोज २०८२ मा पनि उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको थियो ।
सुन तस्करी प्रकरणमा जोडिँदै आएका महरा र उनका परिवारको नाम विभिन्न चरणमा अनुसन्धानमा आएको छ । विशेष अदालतमा दायर मुद्दा अब कानुनी प्रक्रियाअनुसार अघि बढ्नेछ ।































प्रतिक्रिया