रोयल इनफिल्डको ‘गोवन क्लासिक ३५०’ नेपाली बजारमा, यस्ता छन् फिचर र मूल्य

रोयल इनफिल्डको ‘गोवन क्लासिक ३५०’ नेपाली बजारमा, यस्ता छन् फिचर र मूल्य

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । मिड-साइज मोटरसाइकल सेग्मेन्टमा विश्वव्यापी अग्रणी ब्रान्ड रोयल इनफिल्डले आफ्नो नयाँ मोडल ‘२०२६ एडिसन गोवन क्लासिक ३५०’ नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ । बोबर-इन्सपायर्ड डिजाइनमा आधारित यो मोटरसाइकल स्वतन्त्र र मुक्त जीवनशैली मन पराउने राइडरहरूलाई लक्षित गरी ल्याइएको हो ।

नयाँ गोवन क्लासिक ३५० मा ३४९ सीसीको एयर-अयल कुल्ड सिंगल सिलिन्डर इन्जिन प्रयोग गरिएको छ, जसले ६,१०० आरपीएममा २०.२ बीएचपी पावर र ४,००० आरपीएममा २७ एनएम टर्क उत्पादन गर्छ । ५-स्पिड गियरबक्स जडान गरिएको यसको इन्जिनलाई बोबर शैली अनुरूप स्मूथ र आरामदायक यात्रा सुनिश्चित गर्न विशेष रूपमा ट्युन गरिएको कम्पनीले जनाएको छ ।

यस मोटरसाइकलमा आधुनिक प्रविधि र राइडर केन्द्रित सुविधाहरूलाई प्राथमिकता दिइएको छ । जसमा नयाँ एसिस्ट एन्ड स्लिपर क्लच, अपग्रेड गरिएको यूएसबी टाइप-सी चार्जिङ पोर्ट र डाउनशिफ्टमा राम्रो नियन्त्रण प्रदान गर्ने प्रणाली समावेश छन् । यसको डिजाइनमा फ्लोटिङ राइडर सिट, ह्वाइट-वाल एज टाइप आल्मुनियम ट्युबलेस स्पोक ह्विल्स, चोपर स्टाइल फेन्डर्स र स्ल्यास-कट एक्जस्टले प्रिमियम लुक्स प्रदान गरेका छन् ।

लन्चका अवसरमा अल्फा अटोमोटिभ प्रा.लि. का निर्देशक मेघराज पौडेलले गोवन क्लासिक ३५० ले नेपालका राइडरहरूमाझ विशेष आकर्षण पैदा गर्ने र ब्रान्डको पोर्टफोलियोमा फरक पहिचान बनाउने विश्वास व्यक्त गरे ।

नेपालभरका आधिकारिक रोयल इनफिल्ड शोरूमहरूमा उपलब्ध हुने यस मोटरसाइकलको मूल्य रङ अनुसार फरक-फरक तोकिएको छ । ‘स्याक ब्ल्याक र पर्पल हेज’ भेरियन्टको मूल्य ५ लाख ९८ हजार रुपैयाँ र ‘ट्रिप टिल र रेभ रेड’ भेरियन्टको मूल्य ६ लाख २ हजार रुपैयाँ कायम गरिएको छ ।

सन् १९०१ देखि निरन्तर उत्पादनमा रहेको रोयल इनफिल्डले पछिल्लो समय प्रिमियम मोटरसाइकलका साथै ‘फ्लाइङ फ्ली’ नामक इलेक्ट्रिक ब्रान्डमार्फत आधुनिक मोबिलिटीमा पनि हात हालेको छ । नेपालमा यस ब्रान्डका मोटरसाइकलहरू सीकेडी एसेम्बली मार्फत समेत उत्पादन हुँदै आएका छन् ।

Logo