काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिम नभएको भए यतिबेला तिहारको चहल पहल सुरु हुन्थ्यो । साथीभाई जमघट भएर यतिबेला देउसी भैलो खेल्ने तयारीमा हुन्थ्ये । तर यो वर्ष अवस्था अलि फरक छ । कोरोना संक्रमणको जोखिमले अहिले समूहमा खेल्ने, बस्ने अवस्था छैन् । तिहारको समयमा देउसी भैलो खेल्ने अवस्था नभएपछि मादल व्यवसाय पनि चौपट बनेको छ ।
कोरोनाको जोखिमका कारण यो वर्ष तिहारमा गाउँ–टोलमा मादल बजाएर देउँसी, भैलो खेल्ने अवस्था छैन् । जसको असर मादल व्यवसायमा पनि परेको छ । विगतका वर्षहरुमा तिहारको बेला मादल बनाउन भ्याइनभ्याइ हुने मादल व्यवसायीहरु यो पटक भने व्यापार नै शुन्य भएपछि फुर्सदिला बनेका छन् । त्यसो त अहिले ठूला चाडपर्व, स्थानीय मेला पर्वमा पनि मादल बजाएर नाचगान गर्ने चलन समेत विस्तारै कम हुँदै गएको छ । यद्यपी वसन्तपुर क्षेत्रमा मादलको व्यवसाय गर्दै आएका व्यवसायी रिबोबहादुर कुलु गत वर्षहरुमा ७ सय बढी मादल बिक्री गर्ने गरेकोमा यो वर्ष मादलको व्यापार निकै कम भएको बताउँछन् । कोरोना संक्रमणको कारण देउँसी खेल्ने अवस्था नभएकाले व्यापार नै ठप्प भएको उनको भनाइ छ । बजार नभएपनि मूल्यमा भने कुनै परिवर्तन नभएको व्यवसायी कुलुले बताए । विगतका वर्षहरुमा जस्तै १३ सय रुपैयाँदेखि सुरु भएर मादलको गुणस्तर हेरेर ८ देखि १० हजारसम्मका मादल पाइने उनको भनाइ छ ।
यता कोरोना महामारीले मादलको व्यवसाय चौपट भएपनि प्रविधिले भने मौलिक संस्कृतिमाथि नै धावा बोलिरहेको छ । डिजिटल गीत संगीतको कारणले मादल बजाउने परम्परा नै संकटमा पर्न थालेको छ । केही वर्ष पहिलेसम्म जोर मादल बजाएर आँगनमा देउसी खेल्ने गरेको देखिन्थ्यो तर अहिले समय पनि फेरिएको छ । मादलभन्दा क्यासेट बजाएर देउँसी खेल्ने चलनले युवा पुस्ता माझ प्राथमिकता पाएको छ । जसका कारण पनि मादलको बिक्री वितरण कम हुँदै गएको छ ।





























प्रतिक्रिया