तिहार नजिकिँदै गर्दा भक्तपुरका कुमाल समुदायलाई माटोका पाला बनाउने चटारो (फोटोफिचर)

तिहार नजिकिँदै गर्दा भक्तपुरका कुमाल समुदायलाई माटोका पाला बनाउने चटारो (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

भक्तपुर ।

नेपालीको दोस्रो ठूलो चार्ड तिहार नजिकिएसँगै बजारमा तिहारको लागि आवश्यक सामाग्री उत्पादन र खपत बढ्दै गएको छ । अहिले बजारमा तिहारको लागि आवश्यक पर्ने सामाग्रीहरु भाईमसला, फलफूल, सयपत्री र मखमली फूलको मालासँगै दियो बाल्ने पालाको समेत खपत र माग बढ्दै गएको छ ।

तिहार नजिकिएसँगै बजारमा पालाको माग बढ्दै गएकाले भक्तपुरका कुमाल समुदायका प्रजापतिहरुलाई पाला बनाउने, सुकाउने र पोलेर तयार गरी बजार पठाउने चटारो सुरु भएको छ ।

परम्परागत रुपमा नै कुमाल समुदायका प्रजापतिहरुको तिहारमा बत्ति बाल्नको लागि प्रयोग हुने पाला बनाउनमा नै दिनचर्या बित्ने गरेको छ । तिहारमा पालाको माग उच्च हुने भएपछि यतिखेर उनीहरुले अन्य माटाका भाँडाको साथै पाला बनाउन व्यस्त छन् । तिहारमा लक्ष्मी पूजाका लागि खुत्रुकेको समेत माग उच्च हुने गरेकाले खुत्रुकेका लागि पनि उनीहरु व्यस्त छन् ।

तिहारका लागि आवश्यक पर्ने माटोका सामग्री बनाउन भक्तपुरको बोलाछे, तालाको, पोटीस्क्वायर, च्यामासिंह, जगाती, सूर्यविनायक, कमलविनायक, थिमिको नगदेश, बोडे, चपाचो, पाँचो लगायतका क्षेत्रका प्रजापतिलाई भ्याइ नभ्याइ हुन्छ । तर,यो वर्ष कोरोना महामारीका कारणले विगतका वर्षहरुमा जस्तो रौनक भने नरहेको व्यवसायीहरु बताउँछन् । उनीहरुका अनुसार कोरोना महामारीले गर्दा यो वर्षको तिहारमा विगतका वर्षहरु झैं आवश्यकता पर्ने पाला, खुत्रुके, धुपौरा लगायतका सामानको माग आधा मात्रै आएकाले माटोका सामग्रीको उत्पादन पनि कम भएको भक्तपुरका विकास प्रजापति बताउँछन् । विगतका वर्षहरुमा तिहारको लागि पाला बनाउने काम छ सात महिना अघिबाटै सुरु हुन्थ्यो । तर यो वर्ष पालाको माग ५० प्रतिशतले कम भएकाले पहिलेको वर्षहरुमा झैं चटारो नभएको प्रजापतिको भनाई छ ।

कोरोना महामारीका कारणले माटोको भाडा बनाउने पेशामा पनि असर पुृर्यायो । जसकारण पेशाबाटै विस्थापित हुनु पर्ने परिस्थिती सृजना भएको थियो । तर, हाल आएर अवस्था केही सहज भएकाले तिहारका लागि सामग्री जुटाउन प्रजापतिहरू जुटेका छन् ।

त्यस्तै, अर्का व्यवसायी बुद्धीराम प्रजापतिले पनि विगतका वर्षहरुमा तिहार लाग्नु भन्दा अगाडिदेखि नै पाला बनाउन भ्याइ नभ्याइ हुने गरेको तर, यो वर्ष कोरोना महामारीको प्रभावले माग धेरै नभएकाले काम पनि कम भएको बताए । विगतका वर्षमा निकै ठूलो मात्रामा सामग्रीहरूको माग हुने गरेता पनि यस वर्ष आधा संख्याले घटेको बताउँछन् बुद्धीराम ।

बाल्यकालदेखि नै माटोको भाडा बनाउदै आएका अर्का व्यवसायी रोषण प्रजापतिले विगतका वर्षमा ४ लाख पाला बिक्री गर्ने तथा बनाउने गरेकोमा यो वर्ष २ लाख भन्दा बढी पाला नबनाएको बताए । उनका अनुसार कोरोना भाइरसको प्रभावले गर्दा माग पनि नभएकाले पाला पनि कम तयार गरिएको हो ।

कोरोना महामारीको कारणले विदेशी पर्यटकहरु समेत आउन बन्द भएकाले पालाको मात्रै नभएर अन्य माटाको सामाग्रीको समेत व्यापार ठप्प रहेको विगत ३० वर्षदेखि माटाका सामाग्री बनाउदै व्यापार गर्दै आएका राजेश प्रजापतिले बताउँछन् ।

उनका अनुसार विगतका वर्षहरुमा ३ लाख पाला विक्रि गर्दै आएकोमा यो वर्ष २० हजार पाला मात्रै माग भएको छ । कोरोना भाइरसको प्रभावले माटोको भाडा बनाउने व्यावसाय नै विस्थापित हुने अवस्थामा पुगेकाले तिहारमा पाला लगायत खुत्रुकेको व्यापार बढ्ने आँकलन रहेकोमा त्यो पनि नभएको तर फूल रोप्नको लागि प्रयोग हुने गमलाको भने व्यापार राम्रो भएको रोषण बताउँछन् ।

पहिला पहिला हातले नै माटोका भाडा बनाउने कुमाल समुदायले अहिले आधुनिक मेशिनबाट माटोका सामाग्री बनाउने गरेका छन् । तिहार नजिकिँदै गएकाले यो समुदायलाई माटोको पाला लगायतको सामाग्री बनाउने र सुकाउने चटारो नै हुन्छ । भक्तपुरमा मात्र नभई पालाको माग बाहिरी जिल्लादेखि पछिल्लोे समय अन्तर्राष्ट्रिय बजारमा समेत बढ्दै गएको छ ।

भक्तपुरको पाला काभ्रेको बनेपा, धुलिखेल, पनौती, नुवाकोटको त्रिशुलीका साथै पोखरा, हेटौँडा, चितवनका, काठमाडौं, पोखरा, नुवाकोट, नेपालगञ्ज, भैरहवा लगायतका विभिन्न ठाउँमा विक्री हुने गरेको छ ।

यतिबेला कुमाल समुदायमा घरका पुरुष माटो ल्याउने, माटो मुछ्ने, भाडा बनाउन, भाडा पोल्ने लगायतका काम गर्छन् भने महिलाहरु भने भाडा सुकाउने, रङ्ग लगाउने र उत्पादित सामग्रीहरूको व्यवस्थापनमै व्यस्त छन् । तिहारमा कुमाल समुदायका एक परिवारमा कम्तीमा ७५ हजार देखि बढीमा पाँच लाख सम्मको पाला बिक्री हुने गरेको छ ।

Logo