काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभा तथा अधिवेशन वैशाख तेस्रो साता हुने निश्चित भएको छ । महासंघले आइतबार सूचना सार्वजनिक गर्दै आगामी २१–२२ वैशाखका लागि साधारणसभा तथा अधिवेशनको मिति तोकेको हो ।
२१ वैशाखमा ग्वार्कोस्थित होटेल रोयल टुलिपमा साधारणसभा उद्घाट हुने तथा २२ वैशाखमा नेपाल प्रज्ञा–प्रतिष्ठानमा निर्वाचन हुने सूचनामा उल्लेख छ । यसअघि महासंघको ६०औँ वार्षिक साधारणसभा तथा अधिवेशन गत २९ र ३० चैतका लागि तोकिएको थियो । तर, पेट्रोलियम ढुवानी व्यवसायी महासंघसमेत सातवटा संस्थाले साधारणसभाविरुद्ध २२ चैतमा दायर मुद्दामा सुनुवाइ गर्दै उच्च अदालत पाटनले साधारणसभा तत्काल नगर्न अन्तरिम आदेश दिएको थियो ।
न्यायाधीश खड्कबहादुर केसी र दीपक खनालको संयुक्त इजलासले २६ चैतमा अन्तरिम आदेश जारी गर्दै ०८१ फागुन १६ गते अदालतले जारी गरेको परमादेशअनुसार आवश्यक निर्णय गरेर मात्रै साधारणसभा गर्न आदेश दिएका थिए । अदालतको आदेशअनुसार नै सबै निर्णय गरी साधारणसभाको आवश्यक प्रक्रिया अघि बढाइएको छ ।
शेखर गोल्छा नेतृत्वको महासंघको अघिल्लो कार्यसमितिले १८ वटा वस्तुगत संघलाई सदस्यता दिने निर्णय गरेको थियो । तर, सदस्यता सिफारिस समितिको सिफारिसविनै ती संघलाई सदस्यता दिइएको भन्दै त्यसविरुद्ध मुद्दा परेको थियो । १८ वटा वस्तुगत संघलाई सदस्यता दिने वा नदिने भन्ने विवादलाई ‘विन–विन’ हुने गरी टुंग्याइएको छ ।































प्रतिक्रिया