प्रतिष्ठित व्यवसायीमाथि धरपकड नगर्न नाडाको चेतावनी

प्रतिष्ठित व्यवसायीमाथि धरपकड नगर्न नाडाको चेतावनी

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले निजी क्षेत्रको मनोबल र लगानीको वातावरणमा गम्भीर असर पुगेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नाडाले एक विज्ञप्ति जारी गर्दै संस्थाका पूर्व अध्यक्ष एवं मुलुकको प्रतिष्ठित औद्योगिक घरानाका नेतृत्वकर्ता शेखर गोल्छाका सम्बन्धमा बाहिर आएका विषयहरूले समग्र उद्योगी व्यवसायीमा नकारात्मक सन्देश गएको बताएको हो।

नाडाले शेखर गोल्छा नेपालको औद्योगिक एवं व्यवसायिक जगतका एक सम्मानित व्यक्तित्व भएको र उनले समग्र निजी क्षेत्रलाई नयाँ दिशा दिनुका साथै मुलुकको आर्थिक विकासमा अतुलनीय योगदान पुर्‍याएको उल्लेख गरेको छ। यस्तो गरिमामय इतिहास बोकेको व्यक्तित्वमाथि गरिने कुनै पनि अन्यायपूर्ण व्यवहारले लगानीकर्ताहरूको आत्मविश्वासलाई पूर्ण रूपमा खलल पुर्‍याउने नाडाको ठहर छ।

विज्ञप्तिमा सत्यतथ्य छानबिन हुनुपर्छ भन्ने कुरामा निजी क्षेत्रले सधैं सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ। यद्यपि, अनुसन्धानका नाममा व्यवसायीहरूलाई हठात् पक्राउ गर्ने वा थुनामा राख्ने कार्यले स्वदेशी तथा विदेशी लगानीकर्ताहरूमा त्रासको वातावरण सिर्जना गर्ने नाडाले जनाएको छ। यस्ता कार्यले सरकारले अघि सारेको “लगानी मैत्री नेपाल” को नारालाई समेत कमजोर बनाउने विज्ञप्तिमा उल्लेख छ।

नाडाले नेपाल सरकार र सम्बन्धित निकाय समक्ष गोल्छाको हकमा ‘पक्राउ नगरी छानबिन प्रक्रिया अघि बढाउन’ विनम्र अनुरोध गरेको छ। दोषी प्रमाणित नभएसम्म प्रतिष्ठित नागरिकको आत्मसम्मान र व्यवसायिक प्रतिष्ठाको रक्षा गर्नु राज्यको दायित्व भएको स्मरण गराउँदै नाडाले अनुसन्धानमा उनले पूर्ण सहयोग गर्ने कुरामा समेत विश्वास व्यक्त गरेको छ।

Logo