बन्न थाल्यो, म्याग्दी कोरिडोर विद्युत् प्रसारण लाइन

बन्न थाल्यो, म्याग्दी कोरिडोर विद्युत् प्रसारण लाइन

केन्द्रबिन्दु
15
Shares

म्याग्दी । म्याग्दी नदीमा निर्माणाधीन तीन वटा जलविद्युत् आयोजनाले उत्पादन गर्ने विद्युतलाई राष्ट्रिय प्रणालीमा जोड्न १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालिएको छ । यो आयोजनाको संयुक्त रुपमा ‘डबल’ र ‘मल्टी’ सर्किट प्रसारण लाइन बनाउन सुरु गरिएको हो ।

धवलागिरि गाउँपालिका–४ जेल्तुङदेखि वडा नं ३ र ७ हुँदै मालिका गाउँपालिका–७ मा रहेको नेपाल विद्युत् प्राधिकरणको डाँडाखेत सबस्टेसन जोड्ने १६ दशमलब ४८ किलोमिटर लामो प्रसारण लाइन निर्माण हुन लागेको हो ।

यस आयोजनाबाट तीन वटा आयोजनाबाट उत्पादन हुने १६४ दशमलब ७५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिने माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी हाइड्रो इम्पाएरका सञ्चालक पूर्णबहादुर पुनले बताए ।

कुल ६५ मेगावाट क्षमताको म्याग्दीखोला, ४६.२५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी र ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युुत् आयोजनाले साझेदारी गरेर बनाउन लागेको आयोजनाको ५७ वटा टावर निर्माण हुनेछन् ।

कुल रु ४२ करोड ६२ लाख लागत अनुमान गरिएको आयोजना निर्माणका लागि आठ दशमलव ४० हेक्टर निजी र २१ दशमलब ९९ हेक्टर राष्ट्रिय वनको जग्गा प्रयोग हुनेछ ।

Logo