काठमाडौं । नेपालमा विद्यूत् क्षमता ४ हजार १ सय ५ मेगावाट पुगेको छ। आर्थिक सर्वेक्षण रिपोर्टअनुसार जलविद्युत् जडित क्षमता ३ हजार ७ सय ९८ मेगावाट, सौर्य ऊर्जाबाट १ सय ४२ मेगावाट, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा उत्पादित १०६.२४ मेगावाट, तापीय (थर्मल प्लान्ट) ५३.४ मेगावाट र चिनी मिलबाट सहउत्पादन प्रविधिमार्फत ६ मेगावाट बिजुली उत्पादन भएको छ।
नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेका विद्युत् परियोजनाबाट ६६१.५७ मेगावाट, विद्यूत् प्राधिकरणका सहायक कम्पनीमार्फत ७४८.४ मेगावाट र निजी क्षेत्रबाट सञ्चालित परियोजनाबाट २ हजार ५ सय ८७ मेगावाट गरी फागुन २०८२ सम्म ३ हजार ९ सय ९७ मेगावाट राष्ट्रिय ग्रिडमा जडान भएको छ।
वैकल्पिक ऊर्जासहित ९९.१ प्रतिशत जनसंख्यामा विद्यूत् पहुँच पुगेको छ। सामुदायिक उपभोक्तासमेत विद्युत् उपयोग गर्ने ग्राहकको संख्या २०८२ फागुनसम्म ५८ लाख ५९ हजार पुगेको छ। असार २०८२ सम्म ५७ लाख ८ हजार थियो।
विभिन्न आयोजना निर्माणबाट आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म ६ सय ६६ मेगावाट विद्यूत् थप उत्पादन भई नेपालको विद्युत् क्षमता ४ हजार ६ सय २६ मेगावाट पुग्ने अनुमान छ।
चालु आर्थिक वर्षको फागुनसम्म निजी क्षेत्रका जलविद्युत् कम्पनीलाई थप २ हजार ४ सय मेगावाट जडित क्षमता बराबरको १५८ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन सर्वेक्षण अनुमतिपत्र दिइएको छ। यससँगै २०८२ फागुनसम्म २ सय २५ आयोजनाको १० हजार ६ सय २९ मेगावाट जडित क्षमता बराबरको विद्युत् उत्पादनको सर्वेक्षण अनुमतिपत्र जारी भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।




















