चार दिनमा ५० हजार बढीले गरे मुक्तिनाथको दर्शन

चार दिनमा ५० हजार बढीले गरे मुक्तिनाथको दर्शन

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । यहाँको पवित्र धार्मिक तिर्थस्थल मुक्तिनाथ मन्दिरमा पछिल्लो चारदिन यता दर्शनार्थी पर्यटकको उपस्थिती बाक्लिएको छ । औसत दैनिक तीनदेखि चार हजार संख्यामा दर्शनार्थी भक्तजनको उपस्थिती हुने गरेको मुक्तिनाथ मन्दिरमा बिहिबारदेखि दैनिक पन्ध्र हजार बढीले दर्शन गर्ने गरेको पाइएको छ ।

मुक्तिनाथ मन्दिर दर्शन गर्ने अनुकुल याम भएपनि विगत वर्षको तुलनामा यसवर्ष मुक्तिनाथमा दर्शनार्थीको संख्या अकल्पनीय रुपमा वृद्धि भईरहेको छ । छिमेकी देश भारतमा गर्मी अत्यधिक बढेका कारण त्यहाँ शैक्षिक संस्थाहरु बन्द भएकाले भारतीय दर्शनार्थी पर्यटकको संख्या अपेक्षाकृत रुपमा बढ्न पुगेको हो । भारतमा एक महिने लामो विद्यालय र कलेजहरु गर्मीका कारण बिदा भएसंगै मुक्तिनाथमा भारतीय पर्यटकको रौनक वृद्धि भएको हो । स्कुल र कलेजहरु बिदा भएकाले त्यहाँका विद्यार्थीहरु मुक्तिनाथ दर्शन गर्ने उद्देश्यले गर्मी छल्न मुक्तिनाथमा आइपुगेका हुन्।

यसैगरी नेपाल पनि गत बिहिबारदेखि चार दिन लामो सरकारी तथा सार्वजनिक बिदा परेका कारण मुस्ताङको मुक्तिनाथमा दर्शनार्थी पर्यटकहरुको संख्या वृद्धि भएको हो । पछिल्लो चारदिन यता सार्र्वजनिक तथा सरकारी बिदा परेको र भारतमा पनि स्कुल र कलेजहरुमा बिदा परेका कारण मुक्तिनाथमा दर्शनार्थीको संख्या अकल्पनीय रुपमा बढेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।

पछिल्लो चारदिन यता म्याग्दी हुँदै दैनिक दश देखि बाह्र हजारको संख्यामा पर्यटकहरु मुस्ताङ भित्रिने गरेको प्रहरी निरीक्षक बस्यालले उल्लेख गरे । मुक्तिनाथ मन्दिरमा दर्शनार्थीहरुको संख्या ठुलो भएकाले लगातार चारदिन देखि प्रहरी सुरक्षाकर्मीले व्यवस्थापनकार्यमा सहजीकरण गर्दै आइरहेको प्रहरी निरीक्षक बस्यालको भनाई छ ।

भारतीय पर्यटकहरु गर्मी छल्ने बहानामा मुक्तिनाथ दर्शन गर्न आएका कारण मुक्तिनाथ मन्दिरमा भारतीय पर्यटकको उपस्थित थप बाक्लिएको हो । मन्दिर क्षेत्रमा हजारौं दर्शनार्थीको संख्याले मन्दिर परिसर पुरै खचाखच भरिएसंगै मन्दिरको दर्शनकार्य र सुरक्षा प्रवन्ध लगायतको व्यवस्थापन गर्न हम्मे परेको हो । मुक्तिनाथको दर्शन,अवान्छित क्रियाकलाप नियन्त्रण, पीक पकेटिङ र समग्र शान्ति सुरक्षा कायम गर्न प्रहरी टोली निरन्तर खटिएको छ । मुक्तिनाथमा भक्तजन मैत्री दर्शन व्यवस्थाकार्यमा सहजीकरण गर्न ईलाका प्रहरी कार्यालय मुक्तिनाथका पन्ध्र जना सुरक्षाकर्मीसहित जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट थप सुरक्षा बल परिचालन गरिएको प्रहरी निरीक्षक बस्यालको भनाई छ ।

पछिल्लो चारदिन यता सडकमार्ग तथा हवाईमार्गबाट आउने लगायत अन्य स्थानबाट आउने पर्यटकहरु गरी दैनिक औसत पन्ध्र हजार बढीले मुक्तिनाथ मन्दिरको दर्शन गर्ने गरेको प्रहरी स्रोतको भनाई छ । पछिल्लो चार दिन यता नेपालमा सरकारी बिदा परेको र भारतमा पनि गर्मी बिदा परेकाले मुक्तिनाथ मन्दिरमा दशनार्थीको संख्या वृद्धि भएको हो । प्रहरी निरीक्षक सन्तोष बस्यालले मुक्तिनाथमा चार दिनको फेरोमा करिव पचास हजार बढीले दर्शन गरेको बताए ।

मुक्तिनाथ मन्दिर परिसरको क्षमता करिव पाँच सयको हाराहारीमा भएपनि एकसाथै हजारौं दर्शनार्थी मुक्तिनाथ मन्दिरमा उपस्थित हुँदा मन्दिरको व्यवस्थापनकार्यमा मुक्तिनाथ विकास समिति र सुरक्षा निकायलाई हम्मेहम्मे परेको हो । मुक्तिनाथमा लगातार चारदिनसम्म परिसरमा तीन वटा लाईन मिलाएर सुरक्षाकर्र्मीले दर्शनकार्यमा सहजीकरण गरिरहेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिए । मुक्तिनाथ दर्शन गर्न आएका दर्शनार्थी पर्यटक मध्ये ७० प्रतिशत भारतीय दर्शनार्थी रहेको व्यवस्थापक भुसालले उल्लेख गरे ।

बिहिबारदेखि लगातार चारदिन बिदा परेको र छिमेकी देश भारतमा पनि गर्मीका कारण विद्यालय र कलेज बन्द भएकाले मुक्तिनाथमा दर्शनार्थीको संख्या अप्रत्याशित रुपमा बढ्न पुगेका व्यवस्थापक भुसालको भनाई छ ।

मुक्तिनाथ स्थित रानीपौवा बसपार्क क्षेत्रमा भक्तजन सवार सवारी साधनको लस्करले पुरै बसपार्क क्षेत्र सवारी साधनले ढाकिएको छ । झन्डै २०० सवारी क्षमता भएको बसपार्कमा अहिले एक हजार बढी सवारी साधनहरु पार्किङ गरिएका छन् । जिल्ला प्रहरी कार्यालय मार्फत ट्राफिक व्यवस्थापन मिलाउन ट्राफिक प्रहरी परिचालन गरिएको छ । लगातारका चारदिन बिदा र भारतीय पर्यटकको उल्लेख्य उपस्थितीका कारण मुस्ताङका अधिकाँश होटलहरु पर्यटकले भरिभराउ भएका छन् । बिहिबारदेखि म्याग्दीको बेनीदेखि मुक्तिनाथसम्म सबै होटलहरुमा मुक्तिनाथ दर्शन गर्न आउने पर्यटकहरुले भरिभराउ भएको हो ।

Skip This
Skip This
Logo