बजारमा बिटुमिन आपुर्ति नभएपछि सडक कालोपत्रे गर्ने कार्य रोकियो

बजारमा बिटुमिन आपुर्ति नभएपछि सडक कालोपत्रे गर्ने कार्य रोकियो

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । पश्चिम एसिया द्वन्द्वका कारण बिटुमिन र डिजेलको मूल्यवृद्धि हुँदा विभिन्न सडक आयोजनाको निर्माण ठप्प भएको छ। बढी मूल्य तिर्दा पनि बिटुमिन नपाइएको आयोजनाहरूले जनाएका छन् ।

पछिल्लो समय तीव्र गतिमा काम भइरहेको अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तार कार्य प्रभावित बनेको छ । आयोजनाअन्तर्गत १५.८ किलोमिटर सडक खण्डमा चालु आर्थिक वर्षमै पहिलो तहको कालोपत्र सक्ने लक्ष्य थियो। यसलाई दुई खण्ड गरेर ठेक्का गरिएको छ, सूर्यविनायक–साँगा र साँगा–धुलिखेल ।

७.५ किमिको सूर्यविनायक–साँगा खण्डको ठेक्का आशिष–कुमार श्रेष्ठ–बन्धन भगवती जेभीले २४ पुस २०७९ मा लिएको हो । जसको ठेक्का रकम ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ रहेकामा प्रगति ५० प्रतिशत छ। यस खण्डमा अहिलेसम्म डेढ किमि मात्र कालोपत्र भएको छ। यस खण्डको म्याद २९ फागुन २०८३ सम्म छ। बिटुमिन अभावमा थप कालोपत्र हुन सकेको छैन।

कालोपत्र ठप्प बनेको सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख विजयकुमार महतोले बताए। ‘धुलिखेलतर्फ कालोपत्र भइरहेको छ, महँगो मूल्य तिरेरै बिटुमिन ल्याएर निर्माण व्यवसायीले काम गरिरहेका छन् तर सूर्यविनायक–साँगा खण्डमा कालोपत्र हुन सकेको छैन,’ उनले भने, ‘बिटुमिन र पेट्रोलियम पदार्थको मूल्य नबढेको भए दुई तहमध्ये पहिलो तहको कालोपत्र सकिन्थ्यो ।’

राष्ट्रिय गौरवका आयोजनाहरू मध्यपहाडी, हुलाकी, कोशी, कालीगण्डकी, कर्णाली राजमार्ग र काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) मा बिटुमिन नभएर कालोपत्र रोकिएको छ। मदन भण्डारी राजमार्ग, नागढुंगा–मुग्लिन, काँकडभिट्टा–लौकही सडक खण्डमा पनि कालोपत्र प्रभावित बनेको छ। दैनिक १२ हजारभन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्ने नागढुंगा–मुग्लिन सडक खण्डमा कामले गति लिन सकेको छैन। नागढुंगादेखि मुग्लिनसम्म ९४.६६ किमि सडक स्तरोन्नति भइरहेको छ।

बिटुमिन सकिएपछि काम रोकिएको नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताए। ‘यहीं पाउने निर्माण सामग्रीको समस्या छैन, बिटुमिन र पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण निर्माण व्यवसायीले राम्रोसँग काम गरेका छैनन्,’ उनले भने । अहिले बर्खामा समस्या हुने धार्केको उकालो र बजार क्षेत्रमा कालोपत्र गर्ने तयारी हुँदै छ। सय टन बिटुमिन आउँदै गरेको जानकारी निर्माण व्यवसायीबाट आएको उनले सुनाए।

राष्ट्रिय गौरवका रूपमा रहेको पुष्पलाल (मध्यपहाडी) राजमार्गमा पनि कालोपत्र हुन सकेको छैन। बिटुमिन अभावले कालोपत्र गर्न नसकिएको पुष्पलाल (मध्यपहाडी) राजमार्गका सूचना अधिकारी इन्जिनियर सचिन श्रेष्ठले बताए। ‘यसको मूल्य पनि बढेको छ, बजारमा सहज रूपमा पाइएको छैन,’ उनले भने, ‘रामेछाप, पर्वत, दैलेख, गोरखा योजना कार्यालयअन्तर्गत निर्माण भइरहेका सडकहरूको काम प्रभावित बनेको हो।’

राष्ट्रिय गौरवकै हुलाकी राजमार्गको निर्माण थालेको १६ वर्ष भयो तर काम सकिएको छैन। अहिलेसम्म निर्माण प्रगति ७४.३५ प्रतिशत मात्र छ। झापाको केचनाकवलदेखि पश्चिममा कञ्चनपुरको दोधारा–चाँदनीसम्मको भूभागलाई जोड्ने अवधारणाअनुसार आर्थिक वर्ष २०६६/६७ बाट राजमार्ग निर्माण अघि बढाइएको हो। तराई–मधेशका २१ जिल्लाका करिब एक करोड जनता लाभान्वित हुने गरी निर्माण थालिएको आयोजना कहिले बजेटका कारण त कहिले नीतिगत निर्णयमा ढिलाइ हुँदा अघि बढेको छैन।

अहिले बिटुमिनको मूल्यवृद्धि र अभावले गर्दा काम ठप्प बनेको हुलाकी राजमार्ग निर्देशनालयका निर्देशक कुवेर नेपालीले बताए। ‘चितवनको माडी, सुनसरी, मोरङमा कालोपत्रको काम ठप्प छ,’ उनले भने, ‘धनगढी, दाङमा आंशिक मात्र भएको छ, समग्र आयोजनामा प्रभाव परेको छ।’

सरकारले निर्माण सामग्रीमा बढेको मूल्यको समायोजन दिने कुरा पटक–पटक गरे पनि यसबारे अहिलेसम्म केही निर्णय नगरेको नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष बालकृष्ण थापाले बताए। ‘पूर्वाधार विकासमन्त्रीसँग छलफल र कुराकानी गर्दा छिटो समस्या समाधान होला जस्तो लागेको थियो तर हुन सकेन,’ उनले भने, ‘निर्माण व्यवसायी पीडामा छौं, सरकारले छिटो समस्या समाधान गरेर काम गर्ने वातावरण बनाउनुपर्छ।’ बिटुमिनमा लगाइएको १५ प्रतिशत भन्सार महसुललाई ५ प्रतिशतमा झारेर अन्य क्षेत्रमा सरकारले कस्ने काम गर्न नहुने उनको भनाइ छ।

पश्चिम एसियाको द्वन्द्वले बिटुमिन र पेट्रोलियम पदार्थमा अस्वाभाविक मूल्यवृद्धि हुँदा त्यसको असर निर्माण क्षेत्रमा परेको पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले बताए। ‘फागुनदेखि जेठसम्म सडक निर्माण र कालोपत्रको काम गर्ने समय हो,’ नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले शुक्रबार आयोजना गरेको पूर्वाधारमा बजेट र मूल्य समायोजनको समस्यासम्बन्धी छलफलका क्रममा उनले भने, ‘धेरै काम बन्द भएको छ, यसमा राज्यले नै अपनत्व लिएर अगाडि लग्नुपर्छ भन्ने हो।’

Logo