कांग्रेस मिलाउन नेताहरुको दौडधुप, दुवै पक्षले प्रस्ताव राखेर संवाद गर्दै

कांग्रेस मिलाउन नेताहरुको दौडधुप, दुवै पक्षले प्रस्ताव राखेर संवाद गर्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन र इतरपक्षले अगाडि सारेका दुवै प्रस्तावमाथि सहमतिका लागि छलफल भइरहेको छ। विवाद मिलाउन दुवै पक्ष आआफ्नो प्रस्तावसहित औपचारिक संवादमा जुटेका छन्।

सर्वोच्च अदालतबाट वैशाख ४ मा कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद निरूपण भएपछि सभापति थापाले सुरुमा इतर पक्षका नेताहरूसँग भेटवार्ता थालेका थिए। संस्थापन र इतर पक्षका नेताहरूबीचको विभिन्न चरणको भेटवार्तापछि जेठ दोस्रो साताबाट सहमतिका लागि प्रस्तावसहित छलफल सुरु भएको नेताहरू बताउँछन्। कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र नेता रमेश लेखकबीच जेठ पहिलो साता हिमालय होटेलमा संवाद भएको थियो।

उक्त छलफलमा सभापति थापा, उपसभापति शर्मा र नेता लेखकबीच कांग्रेसलाई एकताबद्ध बनाउन विभिन्न विकल्पमा कुराकानी भएको थियो। ‘गगनजी र विश्वजीसँगको भेटमा मैले पार्टी मिलाउनु होस्। मुलुक पनि अप्ठ्यारोमा छ, पार्टी पनि अप्ठ्यारोमा छ। पार्टी एकताको विकल्प छैन भनेर मैले केही राजनीतिक कुरा गरेको थिएँ,’ नेता लेखकले भने।

उनका अनुसार छलफलमा सभापति थापा पार्टीलाई एकताबद्ध बनाएर लैजाने कुरामा एकदमै सकारात्मक देखिएका थिए। ‘बीचमा संवादमा केही दिन ग्याप भएको थियो। मैले पुनः गगनजी र विश्वजीसँग कुराकानी गरेर निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग कुराकानी गरेर विषय टुंग्याऔँ भनेको थिएँ,’ लेखकले भने।

उपसभापति शर्मा उपत्यका बाहिर हुँदा दुई पक्षबीच संवादमा विलम्ब भएको थियो। उनी काठमाडौँ फर्किएपछि शुक्रबार खड्कासँग छलफल भएको लेखक बताउँछन्।‘आज विश्वजी र पूर्ण दाइबीच छलफल भएको छ। दुवै पक्षबाट उठेका विषयमा नमिल्नेकुरा धेरै देखेको छैन,’ उनी भन्छन्, ‘मिलाउने इच्छा भए सबै कुरा मिल्छ। इच्छाशक्तिमा भर पर्छ।’

नेताहरूका अनुसार उपसभापति शर्माले जेष्ठ दोस्रो साता सहमतिका लागि खड्का र लेखकलाई पठाएको प्रस्तावमा संस्थापन इतर पक्ष सहमतिनजिक नै छ। संस्थापनको प्रस्तावपछि जेष्ठ १७ गते धुम्बाराहीमा बसेको इतर पक्षका नेताहरूको बैठकले आफ्नो पनि प्रस्ताव तय गरेको छ।

दुवै प्रस्ताव टेबलमा राखेर छलफल गर्दा निष्कर्षमा पुग्न सजिलो हुने भएकाले शर्मा र खड्काबीच संवाद भएको लेखकको भनाइ छ। ‘दुई जनाबीच संवाद सुरु भएको छ। केही निष्कर्ष निस्कन्छ कि हेरौँ,’ उनले भने।

नेता मीन विश्वकर्माले संस्थापन पक्षले पठाएको प्रस्तावको इतर पक्षले रेस्पोन्स गरिसकेको बताए। तर, सभापति थापा पार्टी मिलाउन इच्छुक देखिए पनि उपसभापति शर्माले अलमल गरिरहेका उनी बताउँछन्। ‘छलफलमा गगनजी सबै कुरा हुन्छ भन्नुहुन्छ। पार्टी मिलाउने कुरामा गगनजीको जस्तो विश्वजीमा उत्सुकता देखिँदैन,’ उनले भने ।

दुवै प्रस्तावमा सहमति खोज्न भाषागत कुरा मिलाउँदा पनि पुग्ने नेताहरू बताउँछन्। संस्थापन पक्षको प्रस्तावमा विशेष महाधिवेशनमा छुटेका साथीहरूलाई समेटेर लिने विषय उल्लेख छ। संस्थापन पक्षले १४ औँ महाधिवेशनको कुरा उल्लेख नगरी विभिन्न समितिमा पनि विशेष महाधिवेशनमा छुटेकाहरूलाई थप्ने कुरा राखेको पाइएको छ। संस्थापन पक्षले विशेष महाधिवेशनमा छुटेकालाई थप्ने भनेर उल्लेख गर्दा इतर पक्षले १४ औँ महाधिवेशनको कार्यसमितिलाई समायोजन गर्ने कुरा आफ्नो प्रस्तावमा राखेको छ।

क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नभनी १५ औँ महाधिवेशनका लागि नवीकरण भएका सदस्यहरूलाई आधार मानेर महाधिवेशनमा भाग लिन दिनुपर्ने इतर पक्षको प्रस्तावमा उल्लेख छ। पार्टी विवाद मिलाउन क्रियाशील सदस्यता अद्यावधिकको विषय बाधक नभएको सहमहामन्त्री योगेन्द्र चौधरी बताउँछन्।

Logo