काठमाडौँ। नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले देशको शासन प्रणाली र नीति निर्माण प्रक्रियाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै वर्तमान कार्यशैली सच्याउन आग्रह गरेका छन्।
देशको शासन व्यवस्था दीर्घकालीन रणनीतिविना केवल ‘हिट एन्ड मिस’को भरमा सञ्चालन भइरहेको भन्दै उनले यसप्रति असन्तुष्टि जनाएका हुन्।
सामाजिक सञ्जालमार्फत हमालले भनेका छन्, ‘देशको शासन प्रणाली नै ‘हिट एन्ड मिस’ अर्थात् अन्दाज र परीक्षणको भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो? कुनै राष्ट्रको भविष्य संयोगमा होइन, दूरदृष्टि, तथ्यमा आधारित निर्णय र दीर्घकालीन रणनीतिमा निर्माण हुनुपर्छ।भविष्यप्रतिको स्पष्ट दृष्टिकोणबिना, र आगामी ५, १० वा २० वर्षमा देश कहाँ पुग्नेछ भन्ने यथार्थपरक पूर्वानुमान गर्न नसकी, केवल दैनिक व्यवस्थापनका समस्यामै अल्झिरहने हो भने, तीव्र गतिमा परिवर्तन भइरहेको आजको विश्वमा देश वास्तवमा प्रगतितर्फ होइन, ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ।’
नेताहरूलाई अल्पकालीन फाइदा र प्रचारमुखी राजनीतिभन्दा माथि उठेर दीर्घकालीन राष्ट्रिय नीति निर्माणमा केन्द्रित हुन उनले आह्वान गरेका छन्।




















