विश्वव्यापी राइड–हेलिङ कम्पनी उबरको नेपाली बजारमा प्रवेश

विश्वव्यापी राइड–हेलिङ कम्पनी उबरको नेपाली बजारमा प्रवेश

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । विश्वव्यापी राइड–हेलिङ कम्पनी उबरले शुक्रबार नेपाली बजारमा औपचारिक प्रवेशको घोषणा गरेको छ। यससँगै नेपालमा सञ्चालन हुने अन्तर्राष्ट्रिय राइड हेलिङ प्लाटफर्महरूको संख्या चार पुगेको छ । कम्पनीले ट्याक्सीमान्डुसँग सहकार्य गरेर सेवा सुरु गरेको हो। नेपालमा कुन व्यावसायिक मोडल प्रभावकारी हुन्छ भन्ने मूल्यांकन गर्न कम्पनीले विभिन्न मोडल परीक्षण गरिरहेको जनाएको छ।

उबरका अधिकारीहरूका अनुसार कम्पनीले सदस्यता (सब्स्क्रिप्सन) तथा कमिसन दुवैमा आधारित मोडलको परीक्षण गरिरहेको छ।भारतमा उबरले सदस्यता मोडलअन्तर्गत चालकहरूबाट निश्चित शुल्क लिएर सेवा सञ्चालन गर्छ, जहाँ चालकहरूले यात्राबाट प्राप्त सम्पूर्ण भाडा आफैं राख्न पाउँछन् र कम्पनीले कमिसन लिँदैन। नेपालमा भने दुवै मोडलको परीक्षण भइरहेको छ। नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरू उबरको रणनीतिको महत्त्वपूर्ण हिस्सा हुने अपेक्षा गरिएको छ।

उबरकी दक्षिण एसियाका लागि अन्तर्राष्ट्रिय बजार प्रमुख आकांक्षा सिंहले हाल नेपालमा कम्पनीको प्रतिनिधि कार्यालय नभए पनि यस वर्षको अन्त्यसम्म स्थापना गर्ने योजना रहेको बताइन्। उनका अनुसार भारत, अमेरिकालगायत उबर सञ्चालन भइरहेका देशहरूबाट नेपाल आउने प्रयोगकर्ताले छुट्टै एप डाउनलोड नगरी आफ्नो पुरानै उबर एपमार्फत सेवा लिन सक्नेछन्।

सिंहले राइड–हेलिङभन्दा बाहिरका क्षेत्रमा पनि विस्तारको ठूलो सम्भावना रहेको बताइन्। ‘कुरियर, खाना डेलिभरी र अन्तरसहर यात्रा महत्त्वपूर्ण अवसरहरू हुन् । यी सबै सम्भावनाहरू अहिले मूल्यांकनकै चरणमा छन्,’ उनले भनिन्। कम्पनीले चालकहरूबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको जनाएको छ। ‘एक साताभन्दा कम अवधिमा झन्डै २ हजार ५ सय चालक हामीसँग आबद्ध भइसकेका छन् ।

२० हजारभन्दा बढी चालकले एप डाउनलोड गर्ने प्रयास गरेका थिए,’ सिंहले भनिन्। उनले उबरले नेपालमा उल्लेखनीय लगानी गरिरहेको र स्थानीय सञ्चालन दर्ताको प्रक्रिया पनि सुरु गरिसकेको जानकारी दिइन्।

Logo